शिक्षा नै विकास र समृद्धिको आधार : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १७ माघ २०७५, १३ : ५८
शिक्षा नै विकास र समृद्धिको आधार : अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नै विकास र समृद्धिको आधार भएको विचार व्यक्त गर्नु भएको छ । चितवनको खैरहनीमा बिहीबार कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नु भएको हो ।

‘शिक्षा नै विकास र समृद्धिको आधार हो । जबसम्म शिक्षामा गुणात्मक रुपले प्रगति र सुधार सुनिश्चित हुँदैन, एउटा राष्ट्रमा समृद्धिको कल्पना गर्नु निरर्थक हुन जान्छ’ उहाँले भन्नुभयो, ‘शिक्षामा सुधारको निम्ति सरकारको तर्फबाट पार्टीको तर्फबाट प्रयास भएको छ । उच्चस्तरीय शिक्षा आयोगको तर्फबाट भर्खरै एउटा प्रतिवेदन तयार पारेर अब त्यसलाई विधेयकमा परिवर्तन गर्ने र संसदबाट त्यसलाई पारित गरेर शिक्षा क्षेत्रमा सुधारको प्रयासमा सरकार लागेको छ । सबै शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउने लक्ष्य पूरा गर्ने दिशामा हामी छौं ।’

निजी क्षेत्र र सामुदायिक क्षेत्रबीच शिक्षाको सन्तुलन कसरी मिलाउने भन्नेमा पार्टी र सरकारको ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने र निजी क्षेत्रलाई नियमन गर्दै लैजानेतर्फ पार्टीको ध्यान गएको उहाँले जानकारी दिनुभयो । ‘राजनीतिक स्थिरताको वातावरण बनाइएको छ । अहिले समृद्धि र विकासको निम्ति सबै क्षेत्रमा हामीले संविधानमा व्यवस्था गरे अनुसार शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताका आधारभुत क्षेत्रहरुलाई मौलिक अधिकारको रुपमा कानुनतः व्यवस्था गरिएको स्थिति छ’ प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कानुनमा व्यवस्था भए अनुसार यो क्षेत्रमा प्रभावकारी कार्यान्वयनतिर जाने चुनौती हाम्रो अगाडि छ । त्यसले राष्ट्रिय एकता र सहमतिको माग गरेको छ । हामी त्यो दिशातिर अगाडि बढ्ने संकल्पमा छौँ ।’

स्वर्ण महोत्सवको पूर्ण सफलताको लागि शुभकामना दिँदै अध्यक्ष प्रचण्डले कंकाली माध्यमिक विद्यालयको निरन्तर प्रगतिको कामना पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको आवश्यक पूर्वाधार तयार पार्ने लक्ष्य पूरा गर्नको लागि पार्टी र मेरो तर्फबाट सहयोग रहने विश्वास र प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यो ठाउँ मेरो लागि विशेष महत्वको छ । आजभन्दा १२ वर्ष अगाडि मैले शान्ति प्रकृयामा सहभागी हुने क्रममा बाह्रबुँदे समझदारी गरेपछि पहिलोपटक म सार्वजनिक हुने क्रममा यसै गाउँमा आएको थिएँ । पहिलो पटक टिभी अन्तर्वार्ता यही ठाउँमा ज्ञानु विसुरालको घरमा दिएको थिएँ । त्यस अर्थमा यो गाउँ, यो विद्यालय, तपाईं अभिभावकहरुसँग मेरो भावनात्मक ऐतिहासिक सम्बन्ध रहेको महसुस गरेको छु ।’

 

प्रतिक्रिया दिनुहोस