रत्ननगर महोत्सव उद्घाटन गर्न उपराष्ट्रपति पुन चितवन आउँदै

बुधबार, २६ पुस २०७४, १४ : २५
रत्ननगर महोत्सव उद्घाटन गर्न उपराष्ट्रपति पुन चितवन आउँदै

चितवन । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति भन्ने नारासाथ पुस २७ गते बिहीबारदेखि सुरु हुन लागेको नवौँ रत्ननगर महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चितवन आउने भएका छन् ।
रत्ननगर महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्घाटन उपराष्ट्रपति पुनबाट हुने जानकारी दिएको हो । माघ ७ गतेसम्म संचालन हुने रत्ननगर महोत्सवमा बाँस र सेतो कपडाको प्रयोग गरेर बनाइएको ७५ फिट अग्लो धरहराको प्रतिरुप मुख्य आकर्षण रहेको मूल समिति संयोजक राजाराम रेग्मीले जानकारी दिए ।
आयोजक संस्था उद्योग वाणिज्य संघ रत्ननगरका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन प्रवद्र्धन, कला, सँस्कृति र अन्य व्यापारिक गरी चार सय ५० वटा स्टल रहेका छन् । महोत्सवको अवलोकन पाँच लाख दर्शकले गर्ने र ५० करोडभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सव अन्तर्गत माघ २ देखि ६ गतेसम्म टाँडी बजारमा पोर्क, पोल्ट्री र कृषिका खाद्य परिकारसहित पोर्क फुड फेस्टिबलको आयोजना गरिने भएको छ । फुड फेस्टिबलमा ५० वटा स्टल रहने आयोजकको भनाइ छ । बंगुरपालन व्यवसायको प्रवद्र्धनका लागि पोर्क फुड फेस्टिबलको आयोजना गरिएको मूल संयोजक रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस