राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी

सफल खबर संवाददाता

बुधबार, १७ असार २०८३, १३ : १२
राष्ट्रपति ट्रम्पले सार्वजनिक गरे आफ्नै क्रिप्टोकरेन्सी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । अमेरिकी सरकारी नैतिकता कार्यालयले मंगलबार सार्वजनिक गरेको ९२७ पृष्ठको आर्थिक खुलासाअनुसार ट्रम्पले विशेषगरी वल्र्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आय आर्जन गरेका हो । यही आम्दानीका कारण सन् २०२४ देखि २०२६ बीच उनको व्यक्तिगत सम्पत्ति दुई अर्ब ३० करोड डलरबाट बढेर छ अर्ब ५० करोड डलर पुगेको फोर्ब्सले जनाएको छ ।

खुलासाअनुसार ट्रम्पले स्टार्टअप कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँगको सम्बन्धबाट करिब पाँच करोड ५० लाख डलर प्राप्त गरेका थिए भने जनवरी २०२५ मा राष्ट्रपतिको शपथअघि सार्वजनिक गरिएको ट्रम्प क्रिप्टोकरेन्सीसँग सम्बन्धित इजाजत पत्र सम्झौताबाट थप ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेको उल्लेख छ । उक्त कम्पनी सेप्टेम्बर २०२४ मा ट्रम्पका छोराहरू र मध्यपूर्वका विशेष दूत स्टिभ विटकफका छोराले संयुक्त रूपमा स्थापना गरेका थिए ।

वर्ल्ड लिबर्टी फाइनान्सियलले आफ्नै डब्लुएलएफआई टोकन बिक्रीबाट ५५ करोड डलर उठाएको थियो । सेप्टेम्बर २०२५ देखि कारोबारयोग्य बनेको यो टोकनको मूल्य ४६ सेन्टबाट घटेर हाल करिब ६ सेन्टमा झरेको छ । ट्रम्प र उनका तीन छोराले डीटी मार्क्स डेफीमार्फत थप २२ अर्ब ५० करोर्ड डब्लुएलएफआई टोकन प्राप्त गरेका छन् । यसको हालको अनुमानित मूल्य एक अर्ब ३० करोड डलर रहेको जनाइएको छ । कम्पनीले अप्रिल २०२५ मा अमेरिकी डलरसँग आबद्ध स्टेबलकोइन पनि सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस