सदनमा जगदीश खरेलले भने- लौ न अब त भगवानलाई जोगाउनुपर्‍यो

सफल खबर संवाददाता

मंगलबार, ०५ जेठ २०८३, ११ : ५१
सदनमा जगदीश खरेलले भने- लौ न अब त भगवानलाई जोगाउनुपर्‍यो

काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले आफ्नो निर्वाचन क्षेत्र ललितपुर २ मा भगवानको रक्षा गर्नुपर्ने बेला आएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सम्पदाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘हामी धेरैलाई लाग्छ, भगवानले हाम्रो रक्षा गर्छन् तर मेरो नगरमा मेरो क्षेत्रमा भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ। मूर्तिहरू चोरी भएका छन्, हिटीहरू चोरी भएका छन्। उत्खनन गर्नुपर्ने अवस्था छ। अतिक्रमण बढिरहेको छ। यो हिसाबले गर्दाखेरि मेरो एक जना सम्पदा अभियन्ता मित्र यादवलाल कायस्थ भन्नुहुन्छ, लौ न अब त भगवानलाई जोगाउनु पर्‍यो।’

रातो मछिन्द्रनाथको जात्रामा दायाँ–बायाँ राख्ने हिटी मङ्ग चोरी भएको बताए।

उनले भने, ‘त्यो हराएको पनि एक–डेढ महिना भयो। त्यो ८०–९० किलोको हुन्छ, त्यो कहाँ गयो? कोसँग गयो? थाहा छैन। हामी अहिले जात्रा मनाइरहेका छौँ। म सभामुखमार्फत गुठी संस्थानलाई र प्रहरीलाई ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रतिक्रिया दिनुहोस