काठमाडौं । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । देशभरि नै पुनः वायु प्रदूषण बढिरहेको वातावरण विभागको तथ्यांक छ ।
बिहीबार (वैशाख १०) बिहान साढे ९ बजेको मापनमा काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २३१ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ ।
स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायु प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार, प्रदूषित सहरको सूचीमा यति बेला काठमाडौंभन्दा अगाडि पाकिस्तानको लाहोर (२६१ एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार लाहोर र काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ सूचीमा रहेको हो ।
एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।
नेपालको वातावरण विभागका अनुसार पनि दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क, शंखपार्क, सुर्खेतलगायत स्थानको वायु धेरै अस्वस्थकर छ । वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायत स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहनुपर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोड दिँदै आएको छ ।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी, गर्भवतीलाई बढी असर गर्ने मन्त्रालयले जनाएको छ ।वायु प्रदूषणका बेला बिहान र बेलुका घरबाहिर ननिस्कन र निस्कन परे मास्क लगाउन मन्त्रालयले आग्रह गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० बैशाख २०८३, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक