थुम्सीको ढिँडो : जिब्रोलाई मोहनी नै लगाउने क्या मीठो !

बाबु कृषभ

शनिबार, ०७ पुस २०७५, १० : ३३
थुम्सीको ढिँडो : जिब्रोलाई मोहनी नै लगाउने क्या मीठो !

गैंडाकोट । कुनै समय ढिँडो गरिबले मात्र खाने खाना हो भन्ने भ्रम थियो । अझै पनि कतैकतै यो भ्रम गाउँघरतिर होला, तर सहरबजारमा यो भ्रम हटिसकेको छ । 
सुगर, प्रेसरका रोगीहरुलाई ढिँडोजस्तो उत्तम खाना अरु केही हुँदैन । यो चिसो मौसममा तातो ढिँडोको स्वाद लिँदा जिब्रो त लठ्ठै पर्छ । त्यसमा पनि अन्तको ढिँडो हो र ! गैंडाकोट थुम्सीको ढिँडो, क्या मीठो ! जिब्रोलाई त मोहनी नै लगाउँछ । 
पूर्वपश्चिम राजमार्गमा पर्छ थुम्सीबजार । गैंडाकोट ९ थुम्सीमा राजमार्गको दायाँबायाँ प्रशस्त होटलहरु छन् । प्रायः सबै होटलमा पाइन्छ, नेपाली खाना ढिँडो । ढिँडो मात्र कहाँ हो र, कलकल बगेकी नारायणी नदीको माछाको स्वाद पनि पाइन्छ । 
त्यसमाथि आफैँले पालेका लोकल कुखुराको मासु । अनि त के चाहियो, यो पुसको लुगलुग काम्ने जाडोमा सुरुपसुरुप ढिँडोसँग लोकल कुखुराको मासुको झोल पिउँदा त आहा ! थुम्सी नै नछोडौँजस्तो पो हुन्छ ।  
कुनै बेला गाउँघरका गरिब बूढापाकाहरु भन्थे, ‘गाउँमा धान फल्दैन, बिहान र बेलुका ढिँडोको भरमा जीवन गुजारिएको छ ।’ कुनै बेला गाउँघरबाट विस्थापित भएको ढिँडो अहिले थुम्सीमा ‘सेलिब्रेटी’ भएको छ । राजमार्गका यात्रुहरुलाई थुम्सीको ढिँडोले मोहनी नै लगाएको छ । 

थुम्सीका होटल सञ्चालकहरु यहाँको ढिँडो अर्गानिक हुने बताउँछन् । आफैँले उत्पादन गरेको फापर, गहुँ, मकैबाट ढिँडो पकाइने होटल सञ्चालकहरुको भनाइ छ । आफैँले उत्पादन गर्न नभ्याएका होटल सञ्चालकहरुले ढिँडो बनाउनको लागि मकै, गहुँ, फापर किन्छन् । 
यहाँका व्यवसायीले ढिँडोमा बजारको घिउ हाल्दैनन् । किसानले घरमा उत्पादन गरेको घिउ किनेर ढिँडोमा हाल्छन् । नारायणीको माछा भनेर अरु माछा पाक्दैन यहाँका होटलमा । अर्गानिक ढिँडोमा नारायणीको माछाको मीठो स्वाद पाइन्छ । 
लोकल कुखुराको मासुसँग थुम्सीको ढिँडोको स्वादले जोकोहीलाई लोभ्याउँछ । त्यसैले त पूर्वपश्चिम राजमार्गका यात्रुहरु एकचोटी थुम्सी झरेर यो पुसको जाडोमा ढिँडोको तातो स्वाद लिन्छन् । 
नारायणगढबाट ६ किलामिटर पश्चिमतर्फ जाँदा थुम्सीबजार पुगिन्छ । थुम्सी बजार नपुग्दै जयश्री पुल आउँछ । जयश्री पुलबाटै सुरू हुन्छ ढिँडोका प्रशस्त होटलहरु । जयश्री पुलदेखि थुम्सीसम्म झन्डै एक दर्जन ढिँडोका होटलहरु छन्, जहाँ ढिँडो पारखीहरु मुख मिठ्याउँदै पुग्छन् । 
स्वास्थ्यका लागि समेत राम्रो मानिने ढिँडोे नेपाली परिकार हो । शहरमा यसले उच्चस्तरको सम्मान पाउँदै गएको छ । कोदो, फापर, मकै र गहुँको पिठोबाट बनाइन्छ ढेडो । ढिँडो मधुमेह, उच्च रक्तचाप, तथा युरिक एसिड जस्ता रोगका बिरामीहरूको लागि अत्यन्तै राम्रो मानिन्छ ।
 
जयश्री पुल कट्नबित्तिक्कै थुम्सीबजार नपुग्दै दायाँतर्फ जयश्री होटल आउँछ । जहाँ अर्गानिक परिकारसँग ढिँडोको मीठो श्वाद पाइन्छ । 
ग्राहक आउनेबित्तिक्कै, होटलका कर्मचारीहरु सोध्न थाल्छन्, ‘कोदो, फापर र मकै केको ढिँडो खाने ? छानीछानी पाउनुहुन्छ । नारायणीको माछा, वा लोकल कुखुराको मासु के खाने ? त्यही पाइन्छ ।’
पुलसँगै छ अर्को होटल । नाम हो, ‘होटल बासेको भाले–ढिँडो’ । होटलको नाममा ढिँडो झुन्डाउनुभएको छ नि ? होटल सञ्चालक हरि क्षेत्रीले प्रश्न खस्न नपाउँदै भने, ‘ढिँडो त यहाँको पहिचान नै हो । थुम्सी जयश्रीपुलको ढिँडो भनेपछि देशभरि चर्चित छ, त्यसैले होटलको नाममा ढिँडो झुन्डाएको । मुुसुक्क हाँसेर जवाफ दिए उनले । उनी गुनासिए, ‘मेरो मात्र होइन, यहाँका धेरै होटलले नामको पछाडि ढिँडो झुन्डाएका छन् ।’
होटलको नामै लोकल कुखुराको भाले नाम त काइदा छ नि ? सञ्चालक क्षेत्रीले भने, ‘ढिँडोसँगै लोकल कुखुराको भोलेका स्वाद पनि पाइन्छ नि ।’ उनी भन्छन्, ‘होटल बासेको भोले व्यवहारिक छ, व्यवसायीलाई कम दिन्छौँ, व्यवहारिकलाई बढी ।’
त्यही होटलमा पोखराका कर्मचारी विष्णुप्रसाद पौडेल ढिँडोको स्वादमा जिब्रो फट्कार्दै थिए । सोधियो, मीठो छ ? ‘गज्जब मीठो । कुरै नगरौँ ।’ 


थुम्सीका कतिपय होटलमा अर्डरपछि मात्र ढिँडो बनाइएको हुन्छ । यात्रुहरुले भनेपछि ढिँडोको परिकार बनाइने भएकाले पनि यहाँका परिकार बासी हुँदैनन् भन्ने विश्वास ग्राहकमा परेको छ । राजमार्गमा भएका कारण देशभरिका मान्छेहरु थुम्सीको होटलमा ढिँडोको स्वाद लिन्छन् । 
जयश्री पुलदेखि थुम्सीबजारसम्म ढिँडोका होटलहरु प्रशस्त छन् । थुम्सी बजारको पाते होटल र पाल्पाली होटलमा पनि ढिँडोको फरकफरक स्वाद पाइन्छ । ढिँडोसँगै नारायणीको माछा र लोकल कुखुराको मासु त छुट्ने कुरै भएन । 
जयश्री पुल मुनि नै छ, खुश्बु रेष्टुरेन्ट एण्ड ढिँडो कटेज । अर्डर आउनसाथ तुरुन्तै बन्छ ढिँडो । यसका सञ्चालक मानस लामा खुश्बु रेष्टुरेन्ट एण्ड ढिँडो कटेजमा ढिँडोदेखि हाँसको छोयलासम्मको स्वाद पाइने बताउँछन् । उनी भन्छन्, ‘हाँसको छोयलासँग ढिँडोको स्वादले सबैलाई लोभ्याएको छ ।’ यहाँका पायः होटलहरुको मेनुमा नेपाली टिपिकल खाना ढिँडो १ नम्बरमा राखिएको छ । 
ढिँडो एक परम्परागत नेपाली खाना हो । यो मकै, गहुँ कोदो वा फापरको पिठोबाट बनाइन्छ । पछिल्लो समय सहरमा यो सेलिब्रेटी बनेको छ ।
अझ गुन्द्रुक, दही, अचार, सिस्नुको खोले, दालसँग ढिँडो खाँदाको स्वाद त वर्णन गर्न नसक्नु नै हुन्छ ।
 

प्रतिक्रिया दिनुहोस