उद्योग मन्त्रालयका ‘छायाँ मन्त्री’ : निर्णय सांसद सुशान्त वैदिक, हस्ताक्षर प्रधानमन्त्री

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, १० : २१
उद्योग मन्त्रालयका ‘छायाँ मन्त्री’ : निर्णय सांसद सुशान्त वैदिक, हस्ताक्षर प्रधानमन्त्री

काठमाडौं । सिंहदरवारमा छायाँ सरकारको चर्चा बेला बेला हुने गरेको थियो । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गर्दा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्री देखि सुरक्षा निकायका प्रमुखसम्म, विदेशी कुटनीतिक नियोगका प्रमुख देखि सबै जसो उच्च कर्मचारीसम्म सबैलाई उनै रिमालले चलाउने गरेको चर्चा अझै पनि सिंहदरवारमा हुने गरेको छ ।

२०७४ मा बाम एकतापछि एमाले माओवादीको झण्डै दुई तिहाईको सरकार बन्दा कांग्रेसले सरकारका मन्त्रालयको काम कारवाहीलाई मसिनो गरी खबरदारी गर्न भन्दै छायाँ मन्त्री नै बनाएका थिए । 

रास्वपाले पनि झण्डै दुई तिहाईको सरकार बन्दा रास्वपाले उसका सांसदहरुलाई मन्त्रालयमा समेत खटाउने निर्णय गरेर कांग्रेसले जस्तै नभनेपनि उस्तै प्रकृतिबाट नेताहरुलाई छायाँ रुपमा परिचालन निति बनाउन खोजेको देखिन्छ ।

तर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्हाल्दै आएको एउटा मनत्रालयमा भने विगत ५ दिन यता छायाँ मन्त्रीकै रुपमा रास्वपाका एक सांसदले काम गरिरहेको छ । प्रधानमन्त्रीसँग अहिले पनि रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय छ । 

उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने बालेनले अर्का मन्त्री नियुक्तिको सिफारिस नगरेपनि त्यहाँ व्यवहारमा भने एक ‘छायाँ मन्त्री’ सक्रिय देखिएका छन् । ती हुन् सांसद सुशान्त वैदिक। प्यूठानबाट निर्वाचित सांसद वैदिक बालेनका निकट मानिन्छन् । 

मन्त्रालयका उच्च स्रोतका अनुसार, दैनिक प्रशासनिक निर्णयदेखि नीतिगत छलफलसम्ममा वैदिककै अहिले सक्रिय सहभागिता र भूमिका छ। मन्त्रालयमा आउने अधिकांश फाइलहरूमा प्रारम्भिक छलफल, मार्गनिर्देशन र निष्कर्ष निकाल्ने काम उनीमार्फत हुन्छ। त्यसपछि मात्रै अन्तिम स्वीकृति र हस्ताक्षरका लागि फाइल प्रधानमन्त्री कार्यालय पुग्ने गरेको छ।

उधोग मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘हामीसँगको बैठक, छलफल र निर्णयको प्रारम्भिक ड्राफ्ट सबै माननीय वैदिककै सहभागितामा हुन्छ। औपचारिक हस्ताक्षर मात्रै प्रधानमन्त्रीज्यूबाट हुन्छ।’

स्रोतका अनुसार, सुरुवातमा उद्योग मन्त्रालयको नेतृत्वका लागि अमरेश सिंहको नाम चर्चामा थियो। बालेनले प्रधानमन्त्रीको शपथ लिँदै गर्दा सिंहलाई अन्य मन्त्री सरह सोही दिन नै उधोग मनत्रालयको जिम्म दिन खोजेका थिए । तर अन्तिम समयमा त्यो प्रस्ताव टुंगिएन र प्रधानमन्त्री शाहले मन्त्रालय आफैं सम्हाल्ने निर्णय गरे। अमरेश सिंहको नाम अन्तिम क्षणमा काटियो । त्यसपछि उक्त मन्त्रालय प्रधानमन्त्री बालेनले आफैसँग राखे । 

यहीबीच, प्रधानमन्त्रीका निकट सहयोगी मानिने सुशान्त वैदिक मन्त्रालयमा प्रभावशाली भूमिकामा देखिन थाले। उनी औपचारिक रूपमा मन्त्री नभए पनि कार्यशैलीले ‘मन्त्रीस्तर’को जिम्मेवारी निर्वाह गरिरहेको टिप्पणी कर्मचारी वृत्तमा छ ।

मन्त्री बस्ने कोठाभित्रै सचिव, सहसचिव लगायतलाई राखेर नितिगत निर्णय, मन्त्रालयमा रहेका फाइलहरुका बारेमा छलफल वैदिकले गर्ने गरेका छन् । त्यहाँ निस्कने र उनले दिने निर्देशनका आधारमा फाइल र निर्णय तयार पारेर हस्ताक्षरका लागि मात्रै प्रधानमन्त्रीको कार्यालय पठाइने गरिएको छ । 

यसले पनि उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा छायाँ मन्त्रीका रुपमा बैदिक रहेको चर्चा अहिले मन्त्रालयभरी सुनिन्छ । वैदिकलाई  सुरुमा बालेनले अर्थमन्त्री बनाउने चाहना राखेका थिए । तर चुनावअघि नै पार्टीभित्रको सहमतिअनुसार रास्वपा सभापति रवि लामिछानेले उपसभापति समेत रहेका नेता स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने र बजेट लेख्न गरेको निर्देशनका कारण प्रधानमन्त्रीको चाहना पूरा हुन सकेको थिएन ।  त्यसपछि वैदिकलाई उद्योग मन्त्रालयको ‘अनौपचारिक नेतृत्व’मा राखिएको रूपमा बुझ्नेहरू मन्त्रालयभित्रै छन्।

हाल उद्योग मन्त्रालयमा निर्णय प्रक्रियाका क्रममा मन्त्रालयमै फाइल तयार हुन्छ । त्यसपछि सांसद शुसान्त वैदिकसँग विस्तृत छलफल हुन्छ । सोही छलफलका आधारमा निस्कने निष्कर्षमापछि प्रस्ताव फाइनल गरिन्छ र अन्तिम हस्ताक्षरका लागि प्रधानमन्त्री कार्यालय पठाइन्छ । मन्त्रालयका एक कर्मचारीले सफलखबरसँग भने, ‘प्रक्रियागत रूपमा सबै कुरा मिलाइन्छ, तर वास्तविक निर्देशन कहाँबाट आउँछ भन्ने सबैलाई थाहा छ।’

प्रतिक्रिया दिनुहोस