भारतीय दूतावासको ‘वसन्त महोत्सव’ मा नेपाली नेताहरुको लर्काे

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, ०८ : ०४
भारतीय दूतावासको ‘वसन्त महोत्सव’ मा नेपाली नेताहरुको लर्काे

काठमाडौं । लैनचौरस्थित भारतीय राजदूतावासमा आयोजित ‘वसन्त महोत्सव’को रात्रीभोज कार्यक्रममा मंगलबार साँझ नेपाली शक्तिकेन्द्रको उल्लेखनीय जमघट भयो ।

साँझ ६: ४५ बजेदेखि राति ९ :३० बजेसम्म चलेको उक्त कार्यक्रममा करिब ६०–७० जना उच्चपदस्थ, कूटनीतिज्ञ, राजनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति रहेको दूतावास स्रोतले जनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आतिथ्यमा दूतावासका वरिष्ठ अधिकारीहरू, कूटनीतिक समुदाय र नेपाली राजनीतिको प्रभावशाली व्यक्तिहरूको सक्रिय सहभागिता थियो। 

दूतावासको रात्रीभोजसहितको कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै, नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूको पनि भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा उपस्थिति रहेको बताइएको छ । बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमान, फ्रान्सकी राजदूत भर्जिनी कोर्टेवल, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ र ब्राजिलका कार्यवाहक राजदूत गेब्रियल एस्कोबार कार्यक्रममा सहभागी थिए।

राजनीतिक वृत्तबाट राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद तथा गोल्डस्टार जुत्ताकी साहुनी विदुषी राणा तथा नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेल र नैनसिंह महरको उपस्थिति देखिन्थ्यो। 

पत्रकारिता क्षेत्रबाट पत्रकार विजयकुमार पाण्डे पनि कार्यक्रममा पुगेको बताइएको छ । व्यापारिक क्षेत्रका प्रतिनिधिहरू पनि उत्तिकै सक्रिय थिए। नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल केसी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पर्यटन व्यवसायी सृजना राणा लगायतका व्यवसायीहरू पनि दूतावासको रात्रीभोजमा पुगेका थिए ।

कार्यक्रमको दृश्यले स्पष्ट संकेत दिएको थियो, दूतावास परिसरमा नेपालीहरूको ‘लर्को’ केवल औपचारिक उपस्थिति मात्र थिएन, यो कूटनीतिक सम्बन्ध, गत फागुन २१ पछिको नयाँ राजनीतिक समीकरण, नयाँ सरकार र आर्थिक विषयमा केन्द्रीत छलफलको केन्द्र बनाउन खोजिएको थियो । 

भारतीय दूतावासले आयोजना गर्ने यस्ता सांस्कृतिक–सामाजिक कार्यक्रमहरूलाई ‘सफ्ट पावर’को अभ्यासका रूपमा पनि हेरिन्छ। वसन्त महोत्सवको नाममा आयोजित उक्त रात्रीभोजले सांस्कृतिक निकटता देखाउने मात्र होइन, प्रभावशाली नेपाली राजनीतिक शक्तिहरुसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्य पनि बोकेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस