काठमाडौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन सुरु गरेको हो।
कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ८२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। यी दुवै समूहको सेयर बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ।
दोस्रो चरणमा ४१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ हुन्छ।
प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन चैत २५ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ। उक्त अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख ६ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्छ। आइपिओको बिक्री तथा निष्कासन प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी-आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, ०९ : ११
लेखकबाट थप