काठमाडौं। घरेलु प्रतियोगितामा लामो समयदेखि दबदबा बनाउँदै आएको एपिएफलाई अन्य दुई विभागीयसँगै संकटा क्लवले एन्फा शहीद स्मारक महिला लिग २०८२ मा चुनौती दिने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा शहीद स्मारक महिला लिग २०८२ बुधवारदेखि ललितपुरस्थित च्यासल रंगशालामा शुरु हुँदैछ । उक्त लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लवले प्रतिष्पर्धा गर्दैछन् । घरेलु प्रतियोगितामा एपिएफ सबैभन्दा बलियो दाबेदार रहँदै आएको छ । विपक्षमाथि पूर्ण हाबी हुँदै एपिएफले घरेलु प्रतियोगिताको उपाधिमा वर्चश्व राख्दै आएको छ । यद्यपि, पछिल्ला समय एपिएफले अन्य दुई विभागीय टोलीले चुनौती दिन थालेको छ । त्यसमा यसपल्ट संकटा पनि थपिने संकेत देखिएको छ । संकटाले चार जना विदेशी खेलाडी अनुवन्ध गर्दै उपाधि जित्ने दाबेदारी प्रस्तुत गरेको छ ।
प्रतियोगिताअगाडि मंगलवार भएको पत्रकार सम्मेलनमा चार टोलीका प्रशिक्षक र कप्तानले राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य देखाएका छन् । एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेले टोली मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । यद्यपि, सविता रानामगरसहित केही खेलाडी घाइते रहेको उनले जानकारी दिए । तर पनि आफूहरू राम्रो फुटबल खेल्दै उपाधि जित्नेगरी खेल्न तयार रहेको उनले बताएका छन् । जहिल्यै पनि प्रतिस्पर्धात्मक विपक्षी अपेक्षा गर्ने गरेको र यसपल्ट राम्रा प्रतिद्वन्द्वी मिल्ने उनको आशा छ ।
कप्तान अनिता बस्नेतले अहिले धेरै टोलीहरू बलियो हुँदै आएकाले यसपटक लिगमा प्रतिष्पर्धात्मक खेल हुने बताइन् । उनले अहिले महिला फुटबलमा पहिले जस्तो सहज नभएको स्पष्ट पारिन् । अन्य टोलीहरूले विदेशी खेलाडी भित्राएकाले एपिएफका लागि चुनौती हुने उनको भनाइ छ ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक रविन श्रेष्ठले केही उत्कृष्ट खेलाडीलाई अनुवन्ध गरेको र तयारी पनि राम्रो भएकाले उपाधि जित्ने आशा गरेका छन् । उनले उपाधि जित्नेबाहेक विकल्प नरहेको उल्लेख गरे । मीना देउवा, सुस्मा तामाङ र बिर्सना चौधरीजस्ता केही खेलाडी टोलीमा भित्रनुले टोली बलियो बनेको उनको आशा छ ।
संकटाले पछिल्ला समय महिला फुटबलमा एकेडेमी सञ्चालन गर्दै आएको छ । यसपल्ट एकेडेमीका तीन खेलाडी समेट्दै संकटा लिग खेल्दैछ । चार विदेशी खेलाडीसहित संकटाले आफू उपाधि जित्नेका लागि खेल्ने बताएको छ । संकटाका प्रशिक्षक रवीन्द्र सिलाकारले उपाधि उचाल्ने या शिर्ष तीनभित्र रहेर लिग पूरा गर्ने लक्ष्य रहेको बताएका छन् । घानाका दुई, म्यानमार र मोजाम्बिक खेलाडीलाई क्लवमा अनुवन्ध गरेको उनले उल्लेख गरे ।
त्रिभूवन आर्मी क्लवका प्रशिक्षक राजु तामाङले गोलस्कोरिङमा सुधार गर्दै लिगमा खेल्ने बताए । अनुभवी गोलकिपरको कमि हुने भएपनि उपलब्ध गोलकिपरले पाएको अवसरमा राम्रो गर्ने उनको आशा छ । कप्तान सुनिता राईले पनि तयारी राम्रो भएकाले सुखद् नतिजा ल्याउन बताइन् । चर्च ब्वाइज युनाइटेडकी डिफेन्डर वर्षा मगरले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरेकी छन् । चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक विक्रम महर्जनले १२ महिना तयारी गर्ने विभागविरुद्ध खेल्ने सहज नहुने उल्लेख गर्दै राम्रो फुटबल प्रश्तुत गर्ने बताएका छन् । खेलाडीहरूले पनि बलियो खेल खेल्न आशा गरेको उनको भनाइ छ । वागमती युथ क्लवका म्यानजेर नीराजन कार्कीले यो लिगका लागि एक महिनादेखि तयारी गरेकाले प्रतिष्पर्धात्मक खेल खेल्ने आशा व्यक्त गरेका छन् ।
यसपटक लिगमा कुल ९ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । लिग शुरु हुन एक दिनअघि पत्रकार सम्मेलनमा ९ टोलीमध्ये ५ टोलीका प्रशिक्षक तथा एक टोलीका व्यवस्थापक सहभागी भए ।
लिगको उद्घाटन खेलमा चैत ४ गते बिहान ११ बजे न्युरोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिष्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजे झापा एफसीले त्रिभूवन आर्मीसँग खेल्ने तालिका छ । वैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाइनेछ । एपिएफ एफसी, चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबका कप्तान पनि उपस्थित थिए । सहभागी सबै टोलीले उपाधिका लागि आफूहरू बलियो दाबेदार रहेको बताएका छन् । एन्फाले शुरुवातमा १० टोली सहभागी हुने उल्लेख गरेको थियो । वालिङ नगरपालिकाले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि एन्फाले राप्ती एफसीलाई समावेश गर्ने निर्णय गरेको थियो । तर, अन्तिम समयमा अन्य क्लबहरूको विरोधपछि राप्तीलाई अयोग्य ठहर गर्दै लिगमा ९ टोली मात्र सहभागी गराइएको हो । एन्फाको त्यो निर्णविरुद्ध क्लव अदालत गएको छ । एन्फाले यस प्रतियोगिताको पुरस्कार रकमबारे भने जानकारी दिएको छैन । मंगलवार भएको पत्रकार सम्मेलन एन्फाका कुनैपनि पदाधिकारी सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ चैत्र २०८२, २० : ५९
लेखकबाट थप