एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की

सफल खबर संवाददाता

सोमबार, ०२ चैत्र २०८२, १० : १०
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आफ्नै शुभचिन्तकबाट आलोचित बनेकी छिन् । उनले आफना स्वकीय सचिव आर्दशकुमार श्रेष्ठलाई प्रधानमन्त्री छोड्ने बेला राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा दिलाएको मनोनयनले विवादमा तानिएकी हन् । 

जनेजी विद्रोहपछि सरकारको नेतृत्व गरेर चुनावसम्म सम्पन्न गरेर सफल भई बिदाई हुने बेला उनले आफ्ना स्वकीयमाथी देखाएको भरोसा र नियुक्तिले उनी आफैलाई डामेर छोडेको छ ।

उनी आइतबार देखि आलोचित बनिरहेकी छिन् । जेनजी विद्रोहपछि सरकारको बागडोर सम्हाल्दै गर्दा उनलाई सहयोग, आड भरोसा दिलाउनेहरु नै प्रधानमन्त्री कार्कीको जाँदाजाँदैको यस्तो निर्णयबाट अचम्मित बनेका छन् । 

उनीहरुले जेनजीको रगतले यस्तो निर्णयको कल्पना नगरेको र नातावाद कृपावाद जो आउँदा पनि देखिएको भन्दै कार्कीको उछितो काटेका छन् । यसरी विरोध गर्ने अग्रपंक्तिमा हिजो उनैलाई आर्दश मानेका ब्यीक्तहरु समेत देखिएका छन् । 

कार्कीको यस्तो निर्णयलाई नेपोवेवीकै संज्ञा दिँदै आलोचना गर्नेमा उनकै क्याबिनेटमा मन्त्री भएर काम गरिसकेका महाबीर पुन देखि उनलाई पछाडी बसेर भएपनि सफल हुन सहयोग गरेकी पूर्वमन्त्री सुमना श्रेष्ठ, जेनजी आन्दोलनकी नेतृ रक्षा बम लगायतसम्म छन् । 

उनीहरुले सामाजिक सन्जालमै टिप्पणी लेख्दै कार्कीको निर्णयप्रति विमति मात्रै जनाएका छैनन, जेनजी आन्दोलनमा बगेको रगतकै समेत अपमान भएको भन्दै कडा टिप्पणी गरेका छन् । सुमनाले कार्कीको त्यस्तो निर्णयमा आपत्ति जनाउँदै लेखेकी छिन्- 

अरुले गरे– नातावाद, कृपावाद, नेपोबेबी 
आफूले गरे– ‘योगदानको कदर’ । 
अरुले गरे– भागबण्डा
आफूले गरे– ‘जिम्मेवारी बाँडफाँड’ ।
अरुले गरे– ‘नुनको सोझो’, ‘सेटिङ’
आफूले गरे– ‘पारस्परिक सम्बन्ध’ ।
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन ? 
यो निर्णय साँच्चै कसको हो– निर्णय गर्नेको कि गराइनेको ?

त्यस्तै उनको क्याबिनेटको मन्त्री भएर काम गरेका र अहिले स्वतनत्र चुनाव जितेका महाबीर पुनले कार्कीको निर्णय सतप्रतिशत गलत भएको बताएका छन् । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आनै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो’, उनले लेखेका छन् ।
अझ जनेजी आन्दोलनकी नेतृ मध्येकी एक रक्षा बलमे त झन् अगाडी बढेर चेतावनी नै दिएकी छिन् ’होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’

अदालतदेखि सुरु भएको सम्बन्ध
आदर्शकुमार श्रेष्ठको सरकारी संरचनामा उकालो लाग्ने क्रम भने सर्वोच्च अदालतबाटै सुरु भएको मानिन्छ। सर्वाेच्च अदालतमा रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ र पछि सुशीला कार्की प्रधानन्यायाधीश रहँदा श्रेष्ठको काम मुख्यतः रजिष्ट्रारले तयार पारेको मुद्दा सूची प्रधानन्यायाधीश निवाससम्म पुर्‍याउने र तोकिएअनुसार अनलाइन प्रणालीमा अपलोड गर्ने थियो।

सर्वप्रथम उनी प्रधानन्यायाधीश कल्याण श्रेष्ठका विश्वासपात्रका रूपमा चिनिन्थे। त्यसपछि सुशीला कार्कीसँग पनि उनको सम्बन्ध निकट बन्दै गयो। यही निकटताकै आधारमा नायब सुब्बा पदमा रहेका श्रेष्ठलाई कार्कीले आफु अदालतको प्रधानन्यायाधीस रहेका बेला अधिकृत तहमा बढुवा गरिदिएकी थिइन्।

तर कार्कीको कार्यकाल सकिएपछि नयाँ प्रधानन्यायाधीश गोपाल पराजुली आएपछि भने परिस्थिति फेरियो। अदालतका कर्मचारी युनियनहरूले मुद्दाका पक्षसँग विचौलिया गतिविधि भएको आरोप लगाउँदै दबाब दिएपछि पराजुलीले श्रेष्ठलाई घटुवा गर्ने निर्णय गरेका थिए।

प्रधानमन्त्री भएपछि फेरि उकालो
अदालतमा घटुवा भए पनि श्रेष्ठले जागिर भने छोडेनन्। तर पछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि उनले श्रेष्ठलाई आफ्नै सचिवालयमा प्रमुख स्वकीय सचिवका रूपमा ल्याइन्।

सचिवालयमा पुगेको चौथो दिनमै श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह सेवा–सुविधा पाउने गरी नियुक्ति दिलाए। यो निर्णय सार्वजनिक भएपछि व्यापक आलोचना भयो। अन्ततः विवाद चर्किएपछि प्रधानमन्त्री कार्कीले संगीता श्रेष्ठलाई सचिवालयबाट हटाउन सहमति जनाइन्, तर आदर्शलाई भने पदबाट हटाइनन्।

बरु कार्कीले आफ्ना प्रेस सल्लाहकारमार्फत श्रेष्ठको बचाउमा सार्वजनिक वक्तव्य दिलाएकी थिइन्। कार्की प्रधानमन्त्री रहँदा तपय निर्णयमा उनले विवादित ब्यक्तिहरुसँग सम्वन्ध बनाएको र त्यस अनुसार काम गरेको आरोप पनि लाग्दै आएको थियो । 

अन्तिम निर्णय पनि उही व्यक्तिका पक्षमा
अहिले सरकारको नेतृत्व नयाँ जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेका बेला कार्कीले तिनै आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गरेकी छन्।

यसले प्रधानमन्त्री कार्कीको छवि पुनः विवादमा तानिएको छ। निर्वाचन समयमै सम्पन्न गराएर प्रशंसा पाएकी उनले कार्यकालको अन्त्यतिर गरेको यो निर्णयले भने उनले निकट सहयोगीप्रति देखाएको असाधारण विश्वासबारे निक्कै आलोचित बनेकी छिन् । उनले पनि अवसर पाउँदा अन्यले गर्ने जस्तै गर्ने रैछिन् भन्ने कलंक बोकेर विदाई हुने तयारीमा लागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस