‘नियुक्ति र बढुवामा कुनै चलखेल हुन दिएनौँ’: प्रधानमन्त्री कार्की

रासस

आइतबार, ०१ चैत्र २०८२, १४ : १३
‘नियुक्ति र बढुवामा कुनै चलखेल हुन दिएनौँ’:  प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन् ।

निर्वाचन हुनेरनहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मत परिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एक प्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नुपरेका समस्या, चुनौती र पूर्व प्रधानन्यायाधीश प्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीले समाचारदाता कालिका खड्कासँग गरेको कुराकानीको सम्पादित अंश:

शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्रीका हैसियतले यहाँले सफल नेतृत्व गर्नुभयो । कस्तो महसुस भइरहेको छ?

मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन । तर, देशको चिन्ता सबैलाई थियो । एउटा अनिश्चयकाबीच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो । देशको बारेमा चिन्ता गर्ने, मुलुकको भलाइ चाहने सबै खुसी छन् । म पनि खुसी छु । सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो । त्यो हामीले समयमै पूरा गर्न सक्यौँ । आनन्दजस्तो महसुस भएको छ ।

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो । जेनजेड आन्दोलनपछिको अवस्था भएकाले सुरुसुरुका दिनमा पक्कै पनि चुनौतीहरू थिए । ती चुनौतीहरूलाई कसरी सम्झनुहुन्छ?

मैले नेतृत्व लिएका अवस्थामा धेरै चुनौतीहरू थिए । आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो । समय जम्मा छ महिनाको थियो । त्यसमाथि प्रहार धेरैले गरे । अविश्वास पनि गरे । हाम्रो विरुद्ध सिङ्गै पुराना दल उभिए । जेनजेड हुँ भन्नेहरूले तुरुन्तै छोड पनि भने । जेनजेडको आन्दोलनलाई अपहरण गरेर आयौँ भने । त्यस बेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए । मन्त्रिपरिषद्का सदस्यले एक अर्कालाई सान्त्वना दिँदै काम गर्‍यो । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा पनि ‘सम्भव छ र ?’ भन्ने जस्ता प्रश्न आउँथे । शान्ति र सहानुभूतिको कुरा धेरैतिरबाट आएन । हाम्रा पछाडि समर्थकको ठूलो पङ्क्ति र सङ्गठन थिएन । हामी सीमित मान्छे सरकारमा थियौँ । त्यो बीचमा धेरै हमला भयो । हामीप्रति मानिसको विश्वास पनि थिएन । त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी सुनिँदै थिए । तर मैले एक कानबाट सुनेँ, अर्को कानबाट उडाइदिएँ । आफ्नो काम छोडिनँ ।

निर्वाचन गराउन सुरुमा राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने मुख्य चुनौती थियो । त्यो चुनौतीको सामना कसरी गर्नुभयो ?

मुलुकमा १२५/१३० पार्टी थिए । विविध विचारका छन् । धेरैको मुखमा रामराम, बगलीमा छुरा । केही एक्लै पार्टी चलाएका छन् । पैसा उठाएर हिँड्ने । हर प्रकृतिका मानिस छन् । कोही साम्यवादी, कोही प्रजातन्त्रवादी छन् । कोही पूर्वराजाकामा जानेछन् । प्रधानमन्त्री जोसुकै होस्, देश बनाऊँ न भन्ने कोही छैन । खाली कुर्सीको मोह मात्रै छ ।

कुर्सीमा बसेर सबै थोक हुँदैन । मुलुक बनाउने हो भने आआफ्नो क्षेत्रमा काम गरे पुग्छ । अरू केही नगरे पनि आफ्ना छोराछोरीलाई राम्रोसँग पढाए परिवार त बन्छ । तर कुर्सी मोह मात्रै देखिन्छ । कानुनी क्षेत्रबाट आएको मान्छे मलाई छ महिना कटाउनै पर्छ भन्ने पनि लागेको थिएन । गाली पनि खायौँ । कति नराम्रोसँग गाली गर्ने नेतासँग भेट्यौँ । राष्ट्रपति कार्यालयमा जेनजेडका प्रतिनिधिसँग बस्दा अहिले नै ‘गेटआउट’ भनेको पनि सुन्यौँ । ‘तँलाई प्रधानमन्त्रीमा राख्दैनौँ’ भने । त्यो तँतँ र मम पनि सह्यौँ । ‘तैँले भनिस्, म निस्केर गएँ’ भनेर छाडेको भए देशको जिम्मा कसले लिन्थ्यो रु म पनि यही देशको जनता हो । यो देशप्रति माया मलाई छ । मैले छोड्न मिल्दैनथ्यो ।

राजनीतिक दलका मानिसलाई धेरै भेट्यौँ । प्रमुख राजनीतिक दलका नेताहरू नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासहित १२५ वटै पार्टीसँग पनि छलफल गर्‍यौँ । त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि । एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै । यो सबै संर्घष त थियो नि ।

पुराना कर्मचारी र पुराना सचिवले त पुरानै दल खोजिरहेका थिए । नयाँले नयाँ कुरा गर्छन् । त्यो सबै सहेर अहिले शान्तिपूर्ण अवस्थामा पुर्‍यायौँ । त्यसका लागि अथक प्रयास गरियो । एक दिनमा १४ वटा बैठकसम्म गरेँ । धेरै पटक राति २–३ बजेसम्म पनि बसेका छौँ । प्रत्येक दिन पाँच वटा, १० वटा बैठक गरेको छ, मान्छे भेटेको छ । वातावरण बनाउने प्रयासकै लागि थियो त्यो ।

फेरि संस्कार कस्तो भएको रैछ भने हरेकलाई प्रधानमन्त्री भेट्नै पर्ने, फोटो खिच्नैपर्ने, त्यो पनि गरियो । किनभने, जसरी पनि चुनावी वातावरण बनाउनु थियो । निर्वाचनको दिन बेलुका ५ः०० बजेसम्म पनि के हो, के हो भन्ने भइरहेको थियो । मतदान हुँदाहुँदै हमला हुने हो कि भन्ने अवस्थालाई रोकियो । धार्मिक साम्प्रदायिक कुरालाई लिएर ठाउँ ठाउँमा तनाव सिर्जना गरिए । ती पनि रोक्यौँ ।

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेर निकम्मा बनाइएको रहेछ । अहिले त्यो गृह मन्त्रालय मातहत राखेर क्रियाशील गराइएको छ । यो निर्वाचन सम्पन्न गर्न र धेरै ठूला दुर्घटना टार्न अनुसन्धान विभागको सूचनाले महत्त्वपूर्ण काम गरेको छ ।

विघटित प्रतिनिधि सभा पुनःस्थानाका लागि तत्कालीन प्रमुख दलहरू सर्वोच्च अदालतमा समेत गएका थिए नि ? सरकारलाई जसरी पनि निर्वाचन गराउनु थियो । सबै दलहरूसँग पटक पटक संवाद, छलफल गरिरह्यौँ । मुलुकलाई पूरै निर्वाचनतर्फ दोहोर्‍याउने काम गरियो । अन्ततः सफल भयो ।

मन्त्रिपरिषद्को बैठक बस्दै छ । त्यहाँ छलफल गरेर आउने निर्णय लिन्छौँ । अब हामीसँग धेरै समय पनि छैन । नयाँ जनादेश आइसकेको छ । नयाँ सरकारले पनि बाँकी प्रक्रिया अवश्य अघि बढाउनेछ ।

केही दिनमा नयाँ सरकार बन्दै छ । नयाँ सरकारलाई यहाँको सन्देश के हुन्छ ?

नयाँ सरकारले सबैभन्दा पहिला जेनजेडले राखेका तीन वटा माग पूरा गर्नुपर्छ– सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था । सबैभन्दा ठूलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नुपर्छ । खुलेआम भ्रष्टाचार रोक्नुपर्छ । सबैभन्दा ठूलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेको छु । त्यहाँ काम गर्ने कर्मचारीहरू राजनीतिकरण हुने गरेको देखियो । हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् । आफ्नो स्वार्थको कुरामा दुई तीन वटा विकल्प ल्याउँछन्, आफ्नो स्वार्थको कुरा छैन र देशको कुरा छ भने त्यो हुँदैन र मिल्दैन मात्र भन्ने । अख्तियार देखाउने । केही सीप नलागे विवादमा परिन्छ हजुर भन्ने । त्यो मैले रद्दी देखेको छु । सरकारको काममा ७५ प्रतिशत असर त्यहाँबाट परेको छ ।

समयमा कुनै परियोजना पूरा हुँदैनन् । नेपाली हो भने त पीर पर्नुपर्छ नि । आज म दुःखपूर्वक भन्दै छु, हामीले कुनै सहयोग पाएनौँ । तर हामीले पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरेपछि यसबीचमा अख्तियारले केही ठूला मुद्दा अघि बढाएको छ । ४०–४५ थान भ्रष्टाचारका मुद्दा यही सरकार आएपछि दर्ता गरेको छ । अन्यथा कतैबाट सहयोग भएन । कर्मचारीतन्त्र चुस्त दुरुस्त हुनुपर्छ । ठूलो क्रान्तिकारी कदम नै अब कर्मचारीतन्त्र सुधारका लागि चाल्नु आवश्यक देख्दछु । अहिलेकै तरिकाले त राम्रो छवि ल्याउने देखिँदैन ।

पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिसक्नुभएको छ । अब जिम्मेवारीबाट बाहिरिएपछि के गर्नुहुन्छ ?

मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर जुन काम गर्नुपर्ने हो, त्यो पूरा गरेँ । अब म पुरानै निजी दैनिकीमा फर्किन्छु ।

राष्ट्रपति हुने भन्ने पनि चर्चा छ नि ?

अब अरु कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मान्छे अरू पनि धेरै हुनुहुन्छ ।

अन्त्यमा, आफ्नो प्रधानमन्त्री कार्यकालको भन्नुपर्ने केही कुरा छन् ?

सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रहरूमा पनि केही प्रयास भएका छन् । नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्छ । देशमा बस्ने वातावरण बनाउनुपर्छ । विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । शिक्षामा सुधार जरुरी छ । देशप्रति विश्वासको वातावरण बनाउनैपर्छ । प्राकृतिक स्रोतसाधनका हिसाबले अत्यन्तै सुन्दर देश छ । अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस् । बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु । मलाई बालेन प्रति विश्वास पनि छ । केही होला भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस