होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०८२, ११ : ५५
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान

मनामा । मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न अन्य राष्ट्रहरूलाई आफ्ना युद्धपोत पठाउन आग्रह गरेका छन् । 

विश्व तेल आपूर्तिको ठूलो हिस्सा बग्ने यस सामरिक समुद्री मार्ग इरानबाट हुन सक्ने आक्रमणको जोखिमका कारण आइतबारसम्म पनि प्रभावकारी रूपमा अवरुद्धजस्तै बनेको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायल गठबन्धनले इरानविरुद्ध सैन्य अभियान सुरु गरेयता क्षेत्रमा तीव्र बमबारी जारी छ । यद्यपि वासिङ्टनले इरानको सैन्य क्षमता लगभग पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरे पनि तेहरानले उक्त दाबी अस्वीकार गर्दै आफ्नो प्रतिकार क्षमता कायम रहेको बताइरहेको छ ।

होर्मुज जलडमरूमध्यबाट सामान्य अवस्थामा विश्वको झन्डै पाँचौँ भाग तेल आपूर्ति पार हुने गर्छ । तर इरानी आक्रमणको खतरा र ढुवानी अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ, जसले विश्व अर्थतन्त्रमा समेत दबाब सिर्जना गरेको छ ।

शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानको सम्भावित अवरोधबाट प्रभावित राष्ट्रहरूले संयुक्त रूपमा समुद्री सुरक्षा बल तयार पार्नुपर्ने बताए। उनले विशेष गरी चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशहरूलाई यस क्षेत्रमा युद्धपोत पठाएर जलडमरूमध्य खुला र सुरक्षित राख्न सहयोग गर्न आग्रह गरेका छन् । त्यसै क्रममा अमेरिकी सेनाले तटीय क्षेत्रमा इरानी सैन्य गतिविधिलाई लक्षित गरी लगातार आक्रमण गरिरहेको उनले बताए।

अमेरिकी सेनाले शुक्रबार इरानको प्रमुख तेल निर्यात केन्द्र रहेको खर्ग टापुमा आक्रमण गरेको थियो । ट्रम्पका अनुसार उक्त कारबाहीमा ऊर्जा संरचनालाई जोगाउँदै इरानी सैन्य लक्ष्यहरू ध्वस्त पारिएको छ । इरानले भने आफ्ना तेल संरचनामा थप आक्रमण भए अमेरिका सम्बन्धित तेल तथा ऊर्जा कम्पनीहरूलाई कडा प्रतिकार गरिने चेतावनी दिएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका र इजरायलका आक्रमणबाट हालसम्म एक हजार २०० भन्दा बढी मानिस मारिएका छन्, यद्यपि उक्त तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार करिब ३२ लाख मानिस इरानभित्रै विस्थापित भएका छन्, जसमा धेरैजसो राजधानी तेहरान र अन्य सहरहरूबाट सुरक्षित स्थानतर्फ सरेका छन् ।

प्रतिक्रिया दिनुहोस