राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने

सफल खबर संवाददाता

बुधबार, २७ फागुन २०८२, १४ : १५
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने

देउखुरी (दाङ)। काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । आज निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा.श्याम लम्सालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्रा.डा.रमेश कँडेलले जानकारी दिए । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।

सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रेग्मीले बताए। “कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताब खाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताब खानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ”, उनले भने । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस