काठमाडौँ। आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आज राति १२ बजेदेखि प्रचारप्रसारसम्बन्धी सबै गतिविधि निषेध हुने भएको छ। निर्वाचन आयोगले मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू रहने गरी ४८ घण्टे मौन अवधि कार्यान्वयनमा ल्याइने जनाएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार तोकिएको समय सीमापछि राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले कुनै पनि प्रकारको मत माग्ने गतिविधि गर्न पाउने छैनन्। मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी प्रावधान निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख गरिएको छ।
राजनीतिक दलहरूले फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु गरेका थिए, जुन आज मध्यरातिसम्म जारी रहनेछ। त्यसपछि मतदातालाई स्वतन्त्र रूपमा निर्णय गर्ने वातावरण सुनिश्चित गर्न प्रचार निषेध अनिवार्य गरिएको आयोगको धारणा छ। यस व्यवस्थाले निष्पक्ष प्रतिस्पर्धा सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
अन्तिम दिन हिमाली तथा पहाडी जिल्लामा परेको फागु पूर्णिमा पर्वसँगै प्रचार गतिविधि सञ्चालन भइरहेको छ। तथापि, राति १२ बजेदेखि राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमार्फत सन्देश सम्प्रेषण, अनलाइन वा अन्य माध्यमबाट प्रचार सामग्री प्रकाशन तथा साझेदारीलगायत सबै प्रकारका प्रचारसम्बन्धी कार्य निषेध हुनेछन्।
यसैगरी मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री मौन अवधि सुरु हुनुअघि हटाउनुपर्ने प्रावधान कार्यान्वयनमा आउनेछ। मतदान प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदाता वा मतदान कार्यमा संलग्न कर्मचारीलाई अवरोध पुर्याउने गतिविधि गर्न नपाइने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ।
आयोगले आचारसंहिताको इमान्दार कार्यान्वयनबाट मतदातामा सचेतना अभिवृद्धि भई निर्वाचन प्रक्रियाको विश्वसनीयता सुदृढ हुने अपेक्षा गरेको छ। संवैधानिक अधिकारअनुसार निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण र समन्वयका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ फागुन २०८२, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने