मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

सफल खबर संवाददाता

शनिबार, १६ फागुन २०८२, ०९ : ४१
मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ । मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ ।

विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो ।

उनले मदतान केन्द्रहरूमा दोभासे नहुँदा आफूहरूलाई बुझ्न पनि गाह्रो हुने गरेको बताए । ‘होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि गाह्रो हुने हुन्छ, त्यसले गर्दा एकातिरभन्दा अर्कोतिर भोट जाने अवस्था हुन्छ’, उनले भने, ‘यस्ता कुराले होचा व्यक्तिलाई गाह्रो हुन्छ ।’

अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान पनि नसक्ने अवस्था रहेको भन्दै यसलाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । सबै मतदान केन्द्रहरूमा यस्तो कुरालाई ध्यान दिनुपर्ने उनले बताए ।

अपाङ्गता भएका व्यक्तिलाई भोट बैंक बनाउने तर, अपाङ्गमैत्री मतदान केन्द्र नबनाउँदा समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने गरेको बताए । उनले आफू सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा नखटाउने गरेको गुनासो गरे ।

उनले गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरेको भए पनि काम गर्न नसक्ने भन्दै फर्काएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस