रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

सफल खबर संवाददाता

बुधबार, १३ फागुन २०८२, ११ : ०४
रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।

रौतहटको क्षेत्र नम्बर १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नम्बर ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उनको भनाइ छ । तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ ।

गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको गौर कारागार प्रमुख प्रदीप पौडेलले जानकारी दिए । उनीहरूलाई मतदान गर्न कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको उनले जानकारी दिए ।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । अठारवटा पालिका रहेका यहाँ यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता छन् ।

दुईवटा मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
यहाँका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । गौर नगरपालिका–५ मा रहेको आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलमा रहेका दुईवटा मतदान केन्द्रमा उनीहरुलाई खटाइएको हो ।

उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृतमा सुचिता श्रीवास्तव, सहायक कर्मचारीमा प्रियङ्का कुमारी यादव, सविता कुशवाह, रुबि झा र कार्यालय सहयोगीमा रञ्जना रिजाल तथा ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृतमा कल्याणी मिश्र, सहायक कर्मचारीमा अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम रहनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

क्षेत्र १ क्षेत्रमा १३२ मतदान केन्द्र छन् । सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ यही फागुन ९ गते नै निर्वाचनसम्बन्धी प्रशिक्षण दिइसकेको उनले जाकारी दिए । जिल्लाको ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी खटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस