घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी

सफल खबर संवाददाता

मंगलबार, ०५ फागुन २०८२, १२ : ४८
घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीतिक रूपमा कमजोर पार्ने उद्देश्यले विभिन्न किसिमका दबाब र घेराबन्दी गरिएको दाबी गरेका छन्। तर त्यस्ता प्रयास सफल हुन नसकेको उनले बताएका छन्।

चितवन क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा मध्यरातमा आफ्नै शयनकक्षसम्म पुगेर ‘अन्तिम इच्छा’ के हो भनेर सोधिएको घटना स्मरण गरे। त्यसबेला आफूले कुनै प्रतिक्रिया नदिएको उल्लेख गर्दै अब त्यसको उत्तर जनताले निर्वाचनमार्फत दिने उनको भनाइ थियो।

उनले आगामी फागुन २१ गतेको मतदानलाई सामान्य निर्वाचन मात्र नभई परिवर्तनको निर्णायक अवसरका रूपमा व्याख्या गरे। लामो समयदेखि मुलुकले देख्दै आएको अपेक्षा पूरा गर्ने जिम्मेवारी यसपटक मतदातामाथि रहेको उनले बताए। राजनीतिक पहुँचको आधारमा राज्य संयन्त्रलाई भर्ती केन्द्र बनाउने, स्रोत–साधनको असमान वितरण गर्ने र क्षेत्रीय विभेद बढाउने प्रवृत्तिको हिसाब जनताले नै गर्ने उनको धारणा थियो।

लामिछानेले व्यक्तिगत रूपमा भएका घटनाबारे प्रतिशोधको बाटो नअपनाउने स्पष्ट पार्दै कानुनी प्रक्रियामार्फत आफूले न्याय खोज्ने बताए। विभिन्न जिल्लामा दायर गरिएका मुद्दा र आफूविरुद्ध भएका अन्यायको सामना न्यायिक रूपमा गर्ने उनको भनाइ थियो।

चितवनप्रति विशेष भरोसा व्यक्त गर्दै उनले सो क्षेत्रलाई ऐतिहासिक परिवर्तनको सुरुवात भएको भूमि भनेर उल्लेख गरे। केही वर्षअघि सुरु भएको राजनीतिक अभियान अहिले देशव्यापी रूपमा विस्तार हुँदै गएको र अन्य जिल्लाबाट समेत सकारात्मक समर्थन प्राप्त भएको अनुभव आफूले विभिन्न भ्रमणका क्रममा गरेको उनले बताए।