काँग्रेस स्याङ्जाको संकल्प : देशकै नमुना जिल्ला बनाउने

सफल खबर संवाददाता

सोमबार, ०४ फागुन २०८२, ११ : १२
काँग्रेस स्याङ्जाको संकल्प : देशकै नमुना जिल्ला बनाउने

काठमाडौँ । नेपाली काँग्रेस स्याङ्जाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै आफ्ना प्राथमिकता र योजनासहित संकल्पपत्र सार्वजनिक गरेको छ । उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश मल्लले स्याङ्जालाई अठोटका साथ संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

 

संकल्पपत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्र केन्द्रित संकल्पपत्र सार्वजनिक गर्दै उनीहरूले युवा पुस्ताको आकांक्षा सम्बोधन गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाए ।

स्याङ्जाको आर्थिक मेरुदण्ड मानिने सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा सडक)लाई ‘डेडिकेटेड टु–लेन’मा स्तरोन्नति गर्ने कामलाई मुख्य प्राथमिकतामा राखिएको छ । साथै आँधीखोला बहुउद्देश्यीय विद्युत् परियोजना अघि बढाएर ऊर्जा र सिंचाइ दुवै क्षेत्रमा फाइदा पुर्याउने योजना प्रस्तुत गरिएको छ ।

पूर्वाधारतर्फ ग्रामीण सडकहरूलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने गरी कालोपत्रे गर्ने, सबै वडा केन्द्र जोड्ने तथा ‘एक घर, एक धारा’ अभियानमार्फत शतप्रतिशत स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

बाली नोक्सानीमा क्षतिपूर्ति, बाँदरको वैज्ञानिक व्यवस्थापन तथा स्थानान्तरण, कृषि पेसामा संलग्न कृषकका सन्तानलाई विशेष छात्रवृत्ति र बाँझो जमिन उपयोगमा ल्याउन ‘साझेदारी कृषि प्रणाली’ लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस