काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल भू–राजनीतिक चक्रब्युहमा फसिसकेको दाबी गरेका छन्। काठमाडौंको २ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै भोट हाल्नुअघि राम्रोसँग विचार गर्न मतदातालाई आग्रह गरे।
उनले भने, ‘देश ठीक दिशामा गइराखेको छैन मात्र होइन, आज नेपालको निर्णय अधिकार नेपाली जनताको हातबाट बाहिर गइसक्यो। नेपाल भू–राजनीतिक चक्रब्युहमा फस्यो। यस्तो ढङ्गले फस्यो कि अब यसबाट उम्किन गाह्रो छ मात्रै होइन, तरिका मिलेन भने हाम्रो राष्ट्रियता समाप्त हुन सक्यो, खतरा तर्फ उन्मुख भइराखेको छ। त्यसैले हामीले मत फेर्नु पर्यो। अहिले नयाँ भन्ने हावा चलेको छ। नयाँ केलाई भन्ने? अनुहारलाई? उमेरलाई? कि विचारलाई? हामीले यस्ता नयाँ धेरै चोटी व्यहोर्यौँ।’
देशको अभिशापको रूपमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता रहेको टिप्पणी गरे। उनले भने, ‘गणतन्त्र ठीक छ, यही धर्मनिरपेक्षता ठीक छ, यही संघीयता ठीक छ, यसमा मान्छे फेरे हुन्छ भनेर भन्ने हो त कांग्रेस, एमाले, माओवादी जस्तै हो। त्यो त तातो तावाबाट उम्केर भुङ्ग्रोमा परेको माछा जस्तो हुन्छ। त्यसकारण विचारले नयाँ, विचारले विकल्प कसले ल्याएको छ? कुन पार्टीले बोकेको छ? कुन उम्मेदवारले बोकेको छ? त्यो कुरालाई हेरेर मतदान गर्नुपर्यो।’
जनताले फेसबुक, टिकटक, रिल हेरेर आफ्नो धारणा बनाए त्यो भन्दा दुर्भाग्य अर्को हुनै नसक्ने जिकिर गरे।
उनले थपे, ‘२०४६ सालको राजनीतिक परिवर्तन पछि कांग्रेस, एमाले, माओवादीमा तिनै नेताहरू छन् घुमिफिरी। पार्टी उही छ, मान्छे उही छन्। अब अहिले केही नयाँ हुँ भन्ने साथीहरू आएका छन्, उनीहरू उनीहरूकै उत्तराधिकारीको रूपमा आएका छन्। नयाँ कुरा केही छैन।’
उनले आज नेपालको प्रधानमन्त्री को हुनुपर्छ भनेर विदेशीहरूले योजना बनाइरहेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ फागुन २०८२, १३ : ३२
लेखकबाट थप