चुनावी प्रचारप्रसारका लागि उपयोगी बन्दै ‘डिजिटल प्लेटफर्म’

रासस

विहीबार, २९ माघ २०८२, १३ : ५४
चुनावी प्रचारप्रसारका लागि उपयोगी बन्दै ‘डिजिटल प्लेटफर्म’

कञ्चनपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा यहाँका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारले सामाजिक सञ्जाल तथा ‘डिजिटल प्लेटफर्म’ लाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन् ।

छोटो समयमा धेरै मतदातासम्म सन्देश पुर्‍याउन सकिने प्रभावकारी माध्यमका रूपमा टिकटक, फेसबुक, ट्विटर (एक्स) लगायतका प्लेटफर्म प्रयोग गर्दै उम्मेदवारहरूले प्रचार अभियान तीव्र बनाएका हुन् । तत्कालीन झलारी गाविसका अध्यक्ष टेकबहादुर हमाल अहिले सामाजिक सञ्जाल नागरिकका लागि अभिव्यक्ति स्वतन्त्रताको प्रयोग, सार्वजनिक बहसमा सहभागिता तथा सरकारलाई जबाफदेही बनाउन दबाब सिर्जना गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताउँछन् ।

“पहिला हाम्रा जमानाका जस्तो माइकिङ गर्ने, भित्तेलेखन गर्ने र पर्चा–पम्पलेट वितरण गर्ने, जताततै टाँस्ने कार्य हुन्थ्यो, यस पटकको निर्वाचनमा खासै पहिलाको जस्तो छैन”, उनले भने, “अधिकांश उम्मेदवारले डिजिटल प्लेटफर्मलाई नै चुनावी प्रचारको प्रमुख माध्यम बनाएका छन् ।”

उम्मेदवार घरदैलोमा प्रत्यक्ष नपुगे पनि सामाजिक सञ्जालमार्फत मतदाताले उहाँहरुको प्रतिबद्धता र एजेण्डाबारे मोबाइलमै जानकारी पाउन थालेको उनको भनाइ छ । उनका अनुसार सामाजिकसम्बन्ध विस्तारदेखि उद्यमशीलता र डिजिटल अर्थतन्त्रसम्मका गतिविधि सामाजिक सञ्जालमार्फत सञ्चालन भइरहेका छन् । यही परिवेशलाई आत्मसात गर्दै कञ्चनपुरका उम्मेदवारहरूले पनि आफ्नो चुनावी अभियान डिजिटल माध्यममा केन्द्रित गरेका हुन् । यसले चुनावी प्रचारप्रसार खर्चलाई मितव्ययी बनाउन सहयोग पुगेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस