चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०८२, २० : ११
चितवन-३ को चुनावी तापमान : देखिदैछ रेनुको पल्ला अलि भारी

भरतपुर महानगरकी अब्बल मेयर थिइन्,– रेनु दाहाल । दोस्रो कार्यकाल मेयरका रुपमा महानगरको नेतृत्व गरिरहँदा भरतपुरमा मात्र होइन, देशैभर उनको चर्चा चुलिएको थियो । नेता हुनु त रेनु जस्तो । विकास गर्नु त रेनुले जस्तो । कहाँको भरतपुर कहाँ युरोप जस्तो बनाइन् ।

भरतपुरमा २०७४ मा मेयर चुनाव लड्न जाँदै गर्दा उनको पहिचान थियो– प्रचण्डको छोरी । तर यो ८ वर्षको बीचमा उनले त्यो पहिचान आफ्नै कर्मले बदलिन् । आफ्नै नामले उनी भरतपुरमा मात्रै होइन, देश विदेशसम्म पनि परिचित भइन् । अझ भरतपुरमा पछिल्लो पुस्ता (जेनजी पुस्ता) ले प्रचण्डलाई चिन्नुपर्दा मेयर रेनुका बुबा भनेर चिन्ने अवस्थासम्म बन्न पुग्यो । कारण थियो – भरतपुर महानगरमा रेनुले देखाएको नेतृत्व क्षमता, कार्यसम्पादनको प्रमाण र भरतपुरको मुहार फेर्न गरेको अथक मेहनत ।

तिनै रेनु आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा चितवन– ३ बाट चुनावी मैदानमा छिन् । हुन त रेनुलाई मेयरका रुपमा दोस्रो कार्यकालको बाँकी समय पनि सकेरै बिदा हुन मन थियो । तर, गत भदौंमा भएको जनेजी विद्रोहपछि मुलुक नयाँ राजनीतिक कोर्शमा अगाडी बढ्यो । छदाँखादाको प्रतिनिधिसभा विघटन भयो, मुलुकमा नयाँ निर्वाचनको मिति तोकियो । त्यसपछि रेनुलाई बाध्य बनायो,– अब मेयर मात्रै भएर बस्ने होइन, चितवनकै प्रतिनिधित्व गरेर संसदमा पुग्ने, जनताको पक्षमा थप प्रभावकारी काम गर्ने ।

त्यसपछि नै हो, उनले प्रतिनिधिसभाका लागि चितवन ३ मा उम्मेदवारी दिएकी पनि । विकासप्रेमी मेयरका रुपमा भरतपुरबासीको मनमनमा बसेकी रेनुसँग रास्वपाले अर्की महिलालाई नै प्रतिस्पर्धामा उतारेपछि चितवन क्षेत्र नम्बर ३ एकपटक फेरि राष्ट्रिय चर्चाको केन्द्रमा छ। चियापसलदेखि बजारका गल्लीसम्म, नारायणगढको पारस बसपार्कदेखि भरतपुर देखि माडीका खेतबारीसम्म एउटै प्रश्न गुञ्जिएको छ  – रेनु दाहाल कि सोविता गौतमरु कि पुराना दलबाट टेकप्रसाद गुरुङ वा शंकरराज थपलिया ? यो क्षेत्र केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, बदलिँदो नेपाली राजनीतिक मनोविज्ञानको जीवित प्रयोगशाला बनेको छ।

विरासत कि संघर्ष : रेणुको कथा
…बाउ डाक्टर भएपछि छोराछोरी पनि डाक्टर बन्न खोज्छन् । कलाकारका सन्तान कलाकार बन्न रुचाउँछ । पाइलटका छोराछोरी पनि पाइलट बन्नै खोज्छन् । व्यापारी बाउ छन् भने, छोराछोरी ब्यापारी नै बन्न रुचाउँछन्’ भरतपुर–१२ का एक वृद्ध मतदाता भन्छन्, ‘रेनु दाहाल नेता बन्न खोज्नु अस्वाभाविक होइन।’

रेनु दाहालको राजनीतिक यात्रालाई केवल ‘प्रचण्डकी छोरी’ भनेर सीमित गर्न खोज्ने आवाज पनि छन्, तर उनलाई नजिकबाट चिन्नेहरू फरक कथा सुनाउँछन्। बाल्यकालमै परिवारसँग कठोर भूमिगत जीवन बिताउनु, राजनीतिक परिवेशमा हुर्किनु र आन्दोलनको मनोविज्ञान बुझ्नु, यी अनुभवले उनलाई क्याम्पसको कक्षाकोठाभन्दा फरक किसिमको राजनीतिक पाठ सिकाएको थियो ।

…उनी भगवानलाई चिठी लेखेर प्रचण्डको छोरी भएर जन्मिन मागेकी होइनन्,Ú भरतपुर महानगरपालिका गीतानगरका एक स्थानीय शिक्षक भन्छन्, ‘जन्मले दिएको पहिचानलाई कामले प्रमाणित गर्न सक्नु नै नेतृत्व हो । रेनुले आफुलाई आफ्नै कार्यक्षमताबाट प्रमाणित गरेर खारेकी छिन् ।’

रास्वपाकी उम्मेदवार सोविता जस्तो उनले सहज वातावरणमा पढ्न पाइनन् । पढ्ने मौका पाएको भए रेनु पनि सोविता जस्तै वकिल बन्न सक्थिन् । तर उनी न्याय, समानता र स्वतन्त्रताको आवाज बन्न दुरदराजका बस्तीहरुमा भूमिगत रुपमा पुगिन् । त्यही आवाजविहिनहरुको आवाज बनेर उनले परिवर्तनको राजनीति गरिन् ।

बर्षाे देखि गडिएर रहेको राजसस्थाको अन्त्य र गणतन्त्र स्थापना गर्ने जनयुद्दको बेगमा बुबा प्रचण्डसँगै उनी पनि होमिइन् । त्यही संर्घषपूर्ण आन्दोलनको बलले संविधानसभाबाट संविधानको जन्म गरायो । महिलाको हक–अधिकार, समानुपातिक÷समावेशी संविधान रेनु जस्तैको परिश्रमले सुनिश्चित गराएको छ ।

‘नेपालको संविधान, समावेशी– समानुपातिक मुद्दा, महिला हक अधिकारको कानुन कुनै ल क्याम्पसमा पढेको वकिलले आएर लेखिदिएको होइन, झुपडीमा जन्मिएका झुत्रा–मैला कपडा लगाएका मजदुर, किसान र गरिबहरूले जबर्जस्ती लेख्न लगाएर लेखिएको हो ।’ गीतानगरका स्थानीय ती शिक्षकले थप अगाडी बढ्ँदै भने, ‘देश र समाजको विकास गर्न जनताको दैनिकी र समस्यासंग भिजेको हुनुपर्छ । रेनु दाहालले अर्थशास्त्रमा पिएचडी गरेकी थिइनन्, इन्जिनियरिङमा एमफिल गरेकी पनि थिइनन्, तर चितवनको कायापलट गरिदिइन् । कहाँको चितवनलाई कहाँ पु¥याईदिइन् । रास्वपाकी नेतृ सोविता गौतमको पनि क्षमता होला तर यिनलाई रेनुसंग तुलना गर्न मिल्दैन ।’

एक दशकअघि भरतपुर हुँदै पश्चिम चितवनको चनौली–मघौलीतर्फ यात्रा गर्नेहरू अझै त्यो धुलाम्य, खाल्डाखुल्डी सडक सम्झन्छन्। २०–२२ किलोमिटरको दूरी पार गर्न घण्टौं लाग्थ्यो। वर्षायाममा हिलो, हिउँदमा धुलो, दुर्घटना त सामान्य खबरजस्तै थिए ।  बा¥है मास त्यस क्षेत्रका सडक हिलाम्य र धुलाम्य हुन्थ्यो, जसले स्थानियबासी त्रसित त थिए नै, यात्रुहरुको झनै कन्तबिजोग हुन्थ्यो ।

आज त्यही सडक चिल्लो छ, फराकिलो छ। भरतपुरबाट पश्चिम चितवनको चनौली–मघौलीतर्फ यात्रा गर्ने यात्रुहरू आज भन्दैछन्, ‘गन्तव्य पुगेको पत्तै हुँदैन।’

भरतपुर–नारायणगढ खण्डको पूर्व–पश्चिम राजमार्ग हेर्ने हो भने अझै चकित पार्छ। छ लेनको व्यवस्थित सडक, बीचमा रोपिएका हरिया बिरुवा, राति झिलिमिली बत्ती, कतिपयलाई यो दृश्य युरोपका (विदेशका) सडक सम्झाउने खालको लाग्छ।

यो केवल एउटा परियोजना मात्र होइन। खानेपानी, ढल निकास, विद्युत विस्तार, हरियाली, शैक्षिक पूर्वाधार, स्थानीयहरूका अनुसार भरतपुरले पछिल्ला वर्षहरूमा देशकै उत्कृष्ट सहरको पहिचान समातेको छ । यो विकास त्यक्तिकै भएको होइन, यसको लागि चाहिने  नेतृत्व क्षमता, दुरदर्शिता, आर्थिक श्रोत÷साधन, योजना सबैका लागि भरतपुरको मेयरका रुपमा रेनु दाहालले निकै पसिना खर्चिएकी छिन् ।

‘नेताको छोरी भनेर सुरुमा भरतपुरको मेयर चुनाव लड्न आउँदै गर्दा शंका थियो, के गर्लिन् भन्ने आशंका थियो’ भरतपुर–१२ का ओमबहादुर क्षेत्री भन्छन्, ‘तर कामले पहिचान बनायो। मेयर हुँदा यति गर्न सक्नेले सांसद भएर नीति निर्माणमा झन् ठूलो भूमिका खेल्न सक्छिन्।’

रेनुले चितनव ३ बाट चुनाव जितेर संसदमा प्रतिनिधित्व गर्न पाइन् भने यो क्षेत्रलाई नितिगत तहमै झनै सुन्दर र आकर्षक बनाउन भुमिका खेल्न सक्छिन् भन्ने क्षेत्रीलाई विश्वास छ । ‘हामीलाई ब्यवहारिक रुपमा नै काम गरेर प्रमाणित गरिसकेकी रेनुप्रति पूर्ण विश्वास छ । त्यही भएर चितवन ३ मा उनलाई नै सांसद बनाउन हामी कस्सिएका छौं,’ भरतपुर १२ का मतदाता क्षेत्री भन्छन् ।

रेनुले गरेको विकासमा कुनै विरोध जनाउन नसकेपनि उनका आलोचकहरु चुप भने छैनन । उनकै बुबा प्रचण्ड प्रधानमन्त्री भएका बेला रेनुलाई स्रोत जुटाउन सहज भएको आलोचकहरु तर्क गर्छन् ।

तर, प्रचण्डको सहयोगमा मात्र उनले आर्थिक स्रोत÷ साधन जुटाएकी होइनन् । स्रोत जुटाउन उनले कति पाइलो खुट्टाले नापिन भन्ने उनलाई मात्रै थाहा छ । कयौ स्थानीय पालिकाहरुसँग मनग्गे बजेट, स्रोत साधन भएपनि खर्च गर्न नसक्दा फ्रिज भएर बसेको देखिएकै छ । तर उनले महानगरको कार्यपालिकामा आफनो कहिल्यै बहुमत नहुँदापनि सबैलाई मिलाएर लैजानसक्ने नेतृत्वदायी खुबी देखाएरै महानगरको विकासे रथ हाँकेकी थिइन् ।  किसानहरुका लागि दुधमा अनुदान, विपन्नहरुका लागि शिक्षामा छात्रवृत्ति, भौतिक पूर्वाधार, बिजुली, खानेपानी, हरियाली, ढल निकास लगायतका काम गरेर रेनुले महानगरबासीको मन जितेकी छिन् ।  ‘रेनुले महानगरबासीलाई लगाएको गुणको ऋण यो चुनाव मार्फत संसदमा जिताएर पठाएर भरतपुरबासीले तिर्नुपर्ने हुन्छ,’ जगतपुरका अर्का स्थानीय भन्छन्, ‘अब उनले संघीय संसदमा पुगेर भरतपुरको विकासको मोडललाई थप उन्नत बनाउन भूमिका खेल्नुपर्छ ।’

चितवन ३ कै मंगलपुरका स्थानीय मतदाता सिके गुरुङ रेनुका प्रतिष्पर्धी उम्मेदवार रास्वपाका सोविता गौतम संसदको रोष्ट्रममा बोल्दा राम्रो सुनिएपनि चितवनको मुद्दा, नारा र मागमा रेनुसँग दाँज्नै नसकिने बताउँछन् । ‘रेनुलाई मत किन दिने भन्दा हामी हजार कारण बताउन सक्छौं, तर सोवितालाई मत किन दिने भन्ने आधार हामी देखाउन सक्दैनौं । काठमाडौं २ मा सोविताले यस अगाडी चुनाव जितेर के गरिन् भनेर खोज्दा खास सन्तोषजनक भूमिका नखेलेको पाएका छौं’ गुरुङले सफलखबरसँग भने ।

गुरुङ रेनुको पक्षमा खुलेर बोलिरहँदा छेउमै रहेका मंगलपुरकै ६२ वर्षिय काजीमान परियारले भने नयाँलाई पनि अवसर दिनुपर्ने बताए । ‘पुराना पार्टीले केही गर्न सकेनन, यिनहरुकै कारण यत्रो ७६ जना नवयुवा मारिए । अब पुरानालाई नभई नयाँलाई अवसर दिनुपर्छ,’ परियार भन्छन् ।

त्रिपक्षीय भिडन्तको अंकगणित
यस क्षेत्रमा प्रतिस्पर्धा केवल रेनु र सोविता दुई महिलाबीच सीमित छैन। नेपाली काँग्रेसले टेकप्रसाद गुरुङलाई मैदानमा उतारेको छ भने एमालेबाट शंकरराज थपलिया उम्मेदवार छन्। राप्रपाबाट दीपक थापा मगर पनि छन् । गत प्रतिनिधिसभा चुनावमा यस क्षेत्रबाट निर्वाचित भएका राप्रपाका नेता विक्रम पाण्डे अन्तिम समयमा पछि हटेपछि राप्रपाको प्रभाव तुलनात्मक रूपमा यस क्षेत्रमा कमजोर भएको विश्लेषण छ। यसरी हेर्दा मुख्य प्रतिस्पर्धा नेकपाकी रेनु, रास्वपाकी सोविता र कांग्रेसका टेकबहादुरकाबीच हुने देखिन्छ।

२०७९ को प्रतिनिधिसभा चुनावमा विक्रम पाण्डे ९राप्रपा०ले ३५,०६० मत, भोजराज अधिकारी ९माओवादी, कांग्रेससहितको समर्थन० २५,८२४, स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी र एमालेको समेत साथ पाएका दिनेश कोइरालाले  १२,२७५ र रास्वपाकी जीता बरालले १४,८४३ मत पाएका थिए । समानुपातिकतर्फ भने रास्वपाले सबैभन्दा बढी २८,४०१ मत ल्याएको थियो। राप्रपाले १६ हजार ७५५ मत, तत्कालिन माओवादी केन्द्रले १६ हजार ९० मत, एमालेले १४ हजार ५२२ मत र कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।

तर नेकपाकी उम्मेदवार रेनु चुनाव उठ्दा यो मतभारमा ठूलै हेरफेर देखिन्छ । उनले पहिलो पटक भरतपुर मेयर हुँदा भन्दा दोस्रो पटक मेयर जितिरहँदा झण्डै १० हजार भन्दा बढी मत पपुलर मत आफ्नो पक्षमा पार्न सफल भएकी थिइन् । यसपटक पनि उनीसाग त्यस्तै पपुलर मत अन्य उम्मेदवारको भन्दा बढी रहेको विश्लेषण चितवन ३ मा गरिन्छ ।

यो निर्वाचन क्षेत्रका केही स्थानहरु भने काँगे्रसको गढ मानिन्छ । कुल मतदाता १ लाख ५५ हजार ३ सय ९ जना रहेको यो क्षेत्रामा माडी नगरपालिकाका नौं वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८, ९ र १३ देखि २८ नम्बरका वडाहरू पर्छन् । महानगर क्षेत्रमा रेनु दाहालको प्रभाव बलियो देखिन्छ। माडी क्षेत्रमा भने स्थानीय मुद्दा मत तान्नका लागि उम्मेदवारका लागि निर्णायक बन्न सक्छन् । वन, वन्यजन्तु, सडक, कृषि र रोजगारीका सवालमा माडीका मतदाताका बीचमा उम्मेदवारहरु कसले कति प्रभाव जमाउन सक्छन्, त्यसले पनि केही परिणाममा फेरबदल पार्न सक्छ । यधपी, नेकपाकी तारा चुनाव चिन्ह्रकी उम्मेदवार रेनु दाहालको पक्षमा अनुभव, संरचना र देखिने उपलब्धि छन्। रास्वपाकी घण्टी चुनाव चिन्ह्रकी उम्मेदवार सोविता गौतमको पक्षमा वैकल्पिक राजनीतिक छवि छ।

काँग्रेस र एमालेसँग संगठनात्मक जरा छन्। यसैले नतिजा सजिलै अनुमान गर्न सकिने अवस्था छैन । तर स्थानीय स्तरमा सुनिने एउटा वाक्य भने रोचक छ – ‘रेनुको पल्ला अलि भारी देखिन्छ, तर चुनाव फागुन २१ सम्म खुल्ला छ ।’

 

प्रतिक्रिया दिनुहोस