सुनसरी । बुधबार राति आएको हावाहुरी इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकै खेतीमा क्षति भएको छ । जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकै खेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँ खेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यस पटक एक बिघा १५ कठ्ठामा मकै खेती गरेकामा हुरीले क्षति पुर्याएर समस्यामा पारेको उनको भनाइ छ ।
“मकै खेतीमा रु. एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट रु. चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भने ।
कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँ खेती गर्दै आएका धेरैजसो कृषक मकै खेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताए । यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए ।
जिल्लामा २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकै खती गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ बैशाख २०८३, १७ : १९
लेखकबाट थप