रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०८२, १३ : १८
रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग नहटाउने मागसहित दायर रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसम्बन्धी सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दामा अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयलाई चुनौती दिँदै दायर रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशीमा चढाइएको छ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल सम्मिलित संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने कार्यसूची तय गरिएको हो। यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गरेको थियो। सो जवाफ प्राप्त भएपछि अदालतले सुनुवाइको मिति निर्धारण गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा अभियोग संशोधनसम्बन्धी निर्णयलाई प्रारम्भिक दृष्टिमै कानुनविपरीत, दुर्भावनायुक्त र मनपरीपूर्ण ठहर गर्दै बदर गर्न माग गरिएको छ।