पर्वत । फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् ।
कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागिरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रूपमा फलफूल खेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन् ।
पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रूपमा प्राप्त गरेकोमा पौडेल खुसी छन् ।
उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरेका छन् । पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरे ।
यसैगरी, उनले भक्तपुरे लोकल काँक्रोको ३० केजी बीउ बिक्री गरेका छन् । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका छन् । उनले प्रतिकिलो काँक्रोका बीउ रु दश हजारमा बिक्री गरेका छन्। कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पुर्याएको छ ।
त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग/करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आवमा केरा खेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ असार २०८३, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठ पर्वले बजारमा केराको माग बढ्यो
केरा खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
२८ जातका केराको परीक्षण गरिँदै