कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'

सफल खबर संवाददाता

शनिबार, १० माघ २०८२, ०९ : ३३
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा आफ्नो सहभागिता र त्यसपछि राजनीतिमा प्रवेशबारे उठेका आलोचनाबारे स्पष्टीकरण दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत घिसिङले जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा आफू बाध्यात्मक परिस्थितिमा सहभागी भएको स्पष्ट पारेका छन्।

उनले आन्दोलनपछिको विषम अवस्थालाई ध्यानमा राख्दै तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र आन्दोलनका अगुवाहरूको आग्रहमा मन्त्री पदको जिम्मेवारी स्वीकार गरेका उल्लेख गरेका छन् ।

सरकारमा सहभागी हुने बेलामै भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको र त्यस अवस्थामा पदमा बसिरहन उपयुक्त नहुने कुरा आफूले प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको घिसिङको भनाइ छ।

आवश्यक परेमा राजीनामा दिएर राजनीतिमा जान सकिने सहमतिपछि मात्र जिम्मेवारी सम्हालेको उनले बताएका छन् ।घिसिङले आन्दोलनपछि राज्य संरचना लगभग शून्य अवस्थामा पुगेको बेला चुनौती स्वीकार गरेर काम गरेको दाबी गरेका छन्।

राजनीतिक प्रश्न उठेपछि आफूले पदबाट राजीनामा दिएको तथ्य सर्वविदित रहेको उल्लेख गर्दै उनले आफू पदलोलुप नभई जिम्मेवारी पूरा गर्ने व्यक्ति भएको जिकिर गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामहरूले आफ्नो जिम्मेवारीबोध प्रमाणित हुने उनको दाबी छ।

आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै घिसिङले त्यस्ता प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन्।

उज्यालो नेपाल निर्माणका लागि जीवन राजनीतिमा समर्पित गर्दै सक्रिय रहने उनले बताएका छन्।