गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी

विहीबार, ०८ माघ २०८२, ०९ : २४
गाजामा इजरायलको आक्रमण, ११ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा बुधबार गाजामा कम्तीमा ११ प्यालेस्टाइनीहरू मारिएका छन् । मारिनेमा दुई १३ वर्षीय बालक, तीन पत्रकार, एक महिलालगायत छन् ।  

दाबी गरिए अनुसार गत अक्टोबरमा हमास र इजरायलबीच युद्धविराम लागु भएयता गाजाका लागि यो सबैभन्दा घातक दिनहरूमध्ये एक हो । 

शिविरका एक अधिकारीका अनुसार मृतकहरूमा तीनजना प्यालेस्टाइनी पत्रकार पनि सामेल थिए, जो मध्य गाजाको एक विस्थापन शिविर नजिकै रिपोर्टिङ गरिरहेका बेला मारिएका हुन् । इजरायली सेनाले भने ड्रोन सञ्चालन गरिरहेका संदिग्धहरूबाट आफ्ना सैनिकहरूलाई खतरा देखिएपछि सो आक्रमण गरिएको बताएको छ ।

मारिएका दुई बालकहरूको मृत्यु छुट्टाछुट्टै घटनामा भएको हो । शव प्राप्त भएको मध्य सहर ‘दिर अल–बलाह’ को अल–अक्सा सहिद अस्पतालका अधिकारीहरूका अनुसार, मध्य बुरेज शरणार्थी शिविरको पूर्वी भागमा इजरायली ड्रोनले १३ वर्षीय बालक, उनका पिता र २२ वर्षीय अर्का एक पुरुषलाई निशाना बनाएको थियो । ती तीनै जना इजरायलको नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेका थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन ।

इजरायलद्वारा लेबनानका थप स्थानहरूमा आक्रमण
इजरायली वायुसेनाले बुधबार दक्षिणी लेबनानका तीनवटा गाउँमा आक्रमण गरेको छ । इजरायलको दाबी अनुसार ती स्थानहरू सशस्त्र समूह हिजबुल्लाहको पूर्वाधारका हिस्सा थिए, जहाँ हतियार भण्डारण गर्ने सुविधाहरू समेत रहेका थिए । 

सिडोन सहरको ठीक दक्षिणमा पर्ने ‘क्वेननारिट’सहित क्षेत्रहरू खाली गर्न इजरायली सेनाले चेतावनी जारी गरेपछि यी हमलाहरू भएका हुन् ।

सरकारी समाचार एजेन्सी ‘नेशनल न्यूज एजेन्सी’का अनुसार बाजुरियेह र जहरानी गाउँमा भएका ड्रोन आक्रमणमा कारहरूलाई समेत निशाना बनाइएको थियो, जसमा दुईजनाको मृत्यु भएको छ । 

करिब एक वर्षअघि इजरायल र हिजबुल्लाहबीच १४ महिना लामो युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौतापछि पनि इजरायलले लगभग दिनहुँ यस्ता सैन्य कारबाहीहरू गरिरहेको छ । उक्त सम्झौतामा लेबनानले सशस्त्र समूहहरूलाई निशस्त्रीकरण गर्ने वाचा गरेको थियो, जुन इजरायलको दाबी अनुसार हालसम्म पूरा भएको छैन । 

प्रतिक्रिया दिनुहोस