कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने

सफल खबर संवाददाता

बुधबार, २३ पुस २०८२, ०९ : १७
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको तयारी तिव्र : १८ वटा उपसमिति गठन, विशेष महाधिवेशन महामन्त्रीद्दयले आजै आह्रवान गर्ने

काठमाडौं । नेपाली कांग्रेसमा अन्ततः सस्थापन पक्षले रोकेपनि महामन्त्रीद्दय आज विशेष महाधिवेशन औपचारिक आह्रवान गर्ने भएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आजै महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनको औपचारिक आह्रवानको पत्र पठाउने र लगत्तै पत्रकार सम्मेलन गरेर समेत त्यसको बारेमा जानकारी गराउने गरी तयारी भएको छ। विशेष महाधिवेशन सफल बनाउन मंगलबार महामन्त्रीद्दय थापा र शर्माले विभिन्न १८ वटा समिति समेत बनाइएको छ । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार, आज महामन्त्रीद्दयले मितिसहित औपचारिक आह्रवान गर्नेछन् । 

‘पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्नुभएको छ । यो संख्या अझ बढेर गएको छ । जसकाकारण पनि पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नै पर्नेछ । केन्द्रीय कार्यसमितिले यो मागको स्वामित्व नलिने अवस्थामा महामन्त्रीले केन्द्रीय कार्यालयका तर्फबाट आज (बुधबार) औपचारिक रुपमा विशेष महाधिवेशनको आह्वान गर्नुहुन्छ,’ शिवाकोटीले  सफलखबरसँग भने । 

विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गर्न लागेका हुन् । अबको ५ दिनपछि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने गरी त्यहाँ हल बुकिङ यस अगाडी नै गरिसकिएको छ भने दुई दिनको सुरक्षा ब्यवस्था लगायतका कामका लागि स्थानिय काठमाडौं जिल्ला प्रशासनसँग आग्रहसहितको पत्र समेत विशेष महाधिवेशन पक्षधरले दर्ता गराईसकेका छन् । 

महामन्त्रीद्दयले विधानको धारा १७ को उपधारा २ टेकेर विशेष महाधिवेशन आह्वान गर्न लागेका हुन् । त्यसका लागि विधानको धारा १७(२), विधानको धारा ३(१२) र धारा २७(१) उल्लेख गरेर विधान महाधिवेशन बोलाउन लागेका हुन् । 

धारा १७(२)मा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ ।

त्यस्तै, धारा ३ को उपधारा १२ मा ‘केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ’ भनिएको छ । धारा २७ को उपधारा १ मा ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ ।  यही आधारमा महामन्त्रीद्दयले विशेष महाविधेशन बोलाउन लागेको थापा निकट केन्द्रीय सदस्य शिवाकोटीले बताए । 

कांग्रेसमा गत असोज २८ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गदै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । 

विशेष महाधिवेशनका लागि पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकलपर्सन समन्वय समिति लगायतका समितिहरु निर्माण भएका छन् । 

ब्यानर, गेट बनाउनेदेखि महाधिवेशन प्रतिनिधिलाई दिने झोलासम्म तयार पारिसकिएको छ । विशेष महाधिवेशनको बन्दशत्रमा पेश हुने दस्तावेज लेखनहरुको काम समेत भईसकेको तयारी समितिमा रहेका नेताहरुको भनाई छ । 

महामन्त्रीद्दयले विशेष महाधिवेशन बोलाई छोड्ने गरी सबै तयारी गरेपछि कांग्रेसको सस्थापन पक्षले भने महाधिवेशन प्रतिनिधीलाई काठमाडौं आउनबाट रोक्ने रणनीति बनाएको छ । विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि आए नेतृत्वसम्म परिवर्तन गरेर जाने, बहुमत नआए निति महाधिवेशनमा रुपान्तरण गर्ने तयारी थालेको देखेपछि सस्थापन पक्ष भने बहुमत प्रतिनिधि आउनबाट रोक्ने रणनीतिमा लागेको हो । 

सस्थापन पक्ष रोक्ने र महामन्त्रीद्दय जसरीपनि ल्याउने रणनीतिमा लागेका कारण यसबेला कांग्रेसका महाधिवेशन प्रतिनिधि तानातानमा परेका छन् ।