इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

सफल खबर संवाददाता

शनिबार, १९ पुस २०८२, १३ : १०
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प

पेरिस, फ्रान्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका ‘उनीहरूको उद्धारका लागि अघि बढ्ने’ बताए । 

इरानका विभिन्न सहरहरूमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरहरूमा फैलिएको हो । केही व्यापारीहरूले पसल बन्द गरेर विरोध जनाएका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले ‘शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा’ दोहोर्‍याएमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको उल्लेख गरे । 

यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई ‘लापरवाह र खतरनाक’ भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिए । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस