गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनास्लु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उनले जानकारी दिए ।
सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउनुहुन्छ । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उनको भनाइ छ । “पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उनले भने, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।
मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन्, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनास्लुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२ जना, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनास्लु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि
नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ
बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए