काठमाडौ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको उल्लेख गरेको छ। फागुन २१ गते देशमा निर्वाचन तय भएको छ । त्यसअघि बालेन रास्वपामा जान सहमत भएसँगै उक्त पार्टीले बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको हो ।
तीन दशकदेखि नेपालको सत्तामा हालीमुहाली गर्दै आएका पुराना दलहरूलाई चुनौती दिन मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गठबन्धन गर्ने निर्णय गरेका हुन्।
रोयटर्सले रास्वपा र बालेन शाहबीच भएको सहमति अनुसार यदि चुनावमा रास्वपाले जित हासिल गरेमा ३५ वर्षीय बालेन शाह देशको प्रधानमन्त्री बन्ने उल्लेख गरेको छ। रवि लामिछाने भने पार्टी सभापतिकै भूमिकामा रहनेछन्। पूर्व टेलिभिजन प्रस्तोता लामिछाने र र्यापरबाट राजनीतिमा आएका शाहको यो सहकार्यलाई नेपाली राजनीतिको रणनीतिक मोड मानिएको समाचारमा उल्लेख छ ।
यो गठबन्धन गत सेप्टेम्बरमा भएको युवाहरूको ठूलो प्रदर्शनको जगमा बनेको हो। भ्रष्टाचार विरुद्ध भएको उक्त आन्दोलनमा ७७ जनाले ज्यान गुमाएका थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो। बालेन शाह उक्त आन्दोलनका अघोषित नेता भएको पनि समाचारमा दाबी गरिएको छ। उनकै सहयोगमा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग भनेका छन्, 'बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको निकै स्मार्ट कदम हो। पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले अहिले चिन्तित देखिन्छन्।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, ०७ : ३४
लेखकबाट थप