एजेन्सी । अमेरिकी न्याय विभागले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनसँग सम्बन्धित हजारौँ पृष्ठका गोप्य दस्तावेजहरू सार्वजनिक गरेसँगै अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ।
सार्वजनिक गरिएका फाइलहरूमा व्यापक रूपमा विवरणहरू मेटाइएको भन्दै एप्स्टिनका पीडितहरू र अमेरिकी सांसदहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।
अमेरिकी संसद् (कांग्रेस) ले पारित गरेको 'एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट' अन्तर्गत यी कागजातहरू सार्वजनिक गरिएका हुन्। यद्यपि, धेरैजसो कागजातमा महत्वपूर्ण जानकारीहरू गोप्य राखिएको र कतिपय फाइलहरू अझै सार्वजनिक नगरिएको भन्दै यसलाई 'अधुरो' कदम बताइएको छ।
सार्वजनिक गरिएका नयाँ तस्बिर र दस्तावेजहरूमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बिल क्लिन्टनको नाम तथा तस्बिरहरू समावेश छन्। एउटा दस्तावेजमा एप्स्टिनले १४ वर्षीया किशोरीलाई ट्रम्पसँग भेटाएको दाबी गरिएको छ। तर, ट्रम्पले कुनै पनि गलत काममा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।
त्यसैगरी, बिल क्लिन्टनले पनि एप्स्टिनको अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन् । फाइलहरूमा माइकल ज्याक्सन, मिक ज्यागर, डायना रोस र बेलायती राजकुमार एन्ड्रयू जस्ता चर्चित व्यक्तिहरूका तस्बिर र नाम पनि देखिएका छन्। अधिकारीहरूका अनुसार, फाइलमा नाम हुनु नै कुनै अपराधको प्रमाण भने होइन।
डेपुटी अमेरिकी महान्यायाधिवक्ता टाड ब्लान्चले विभागले १,२०० भन्दा बढी पीडित वा उनीहरूका आफन्तको पहिचान लुकाउनका लागि विवरणहरू मेटाइएको स्पष्ट पारे । उनले भने, 'हामीले कुनै पनि राजनीतिज्ञको नाम लुकाएका छैनौँ। कानुनले तोके बमोजिम पीडितहरूको सुरक्षाका लागि मात्र विवरणहरू मेटाइएको हो।'
एप्स्टिनकी एक जीवित पीडित मारिना लासेर्डाले लामो समयदेखि पर्खिएको फाइलहरू यसरी अधुरो रूपमा आउँदा निराश भएको बताइन्। अर्की पीडित लिज स्टाइनले न्याय विभागले पारदर्शी कानुनको ठाडो उल्लंघन गरेको आरोप लगाएकी छन्।
सांसद रो खन्ना र थमस म्यासीले यो सार्वजनिक प्रक्रियालाई अपूर्ण भन्दै महान्यायाधिवक्ता पाम बन्डी र अन्य अधिकारीहरूमाथि कानुनी कारबाहीको चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ पुस २०८२, ०७ : ०२
लेखकबाट थप