मनाइयो सार्कको ४०औँ वार्षिकोत्सव

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, ०८ : ३९
मनाइयो सार्कको ४०औँ वार्षिकोत्सव

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा हस्ताक्षर गरेको ४० औँ वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित समारोहमा सार्कका महासचिव मोहम्मद गोलाम सरवारले शुभकामना व्यक्त गर्दै सार्कका विशिष्टीकृत निकाय र सार्कका क्षेत्रीय केन्द्रलगायत अन्तर सरकारी संयन्त्र बडापत्रका उद्देश्य साकार पार्ने उद्देश्यले आफ्नो कार्यदिशामा सक्रिय रूपमा लागिपरिरहेका उल्लेख गरे । यसका अतिरिक्त, सार्कका पर्यवेक्षक मुलुकहरू र विकास साझेदारहरुसँगको सहकार्यले पनि निरन्तरता प्राप्त गर्दै आएको उहाँले उल्लेख गरे । 

“सार्क मानवताको एक चौथाइ हिस्सा बोकेको दक्षिण एसियाली क्षेत्रबिच सहकार्यको भावनालाई प्रतिबिम्बित गर्दै एकता र उत्थानशीलताको प्रतीकका रूपमा उदाएको छ”, महासचिव सरवारले भने, “म विश्वस्त छु कि आगामी वर्षले हामीलाई हाम्रा साझा चुनौतीलाई सम्बोधन गर्दै प्रचुर सम्भावनाको सदुपयोग गर्ने उद्देश्यले आपसी सहकार्यका लागि थप अवसर प्रदान गर्नेछन् र एकीकृत र समृद्ध दक्षिण एसियाको हाम्रो सपना साकार पार्न सार्क हामी सबैको तर्फबाट काम गर्न अझ सशक्त हुनेछ ।”

दक्षिण एसियाका जनताको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यअनुरुप उद्देश्यले अभिप्रेरित भई सार्कको तत्वावधानमा सञ्चालन गरिएका क्षेत्रीय सहयोग व्यापक र बृहत्तर रहेको बताउँदै महासचिव सरवारले गरिबी निवारण, आर्थिक र व्यापारिक विकास, कृषि, शिक्षा, विज्ञान र प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क, पूर्वाधार विकासजस्ता क्षेत्रमा प्रयास केन्द्रित रहेको उल्लेख गरे ।

उनले भने, “यसका अतिरिक्त, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, आतङ्कवाद र लागूपदार्थको तस्करी, सुरक्षा, युवा, महिला र बालबालिकाकाे सशक्तीकरणजस्ता आमचुनौतीका विषयलाई पनि हामीले सम्बोधन गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस