रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, ०८ : ४८
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने

चितवन । सत्तारुढ दल राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनमा जारी छ । हिजो उद्घाटन शत्र सम्पन्न भएको रास्वपाको आज देखि बन्द शत्र र नेतृत्व चयनको प्रक्रिया शुरु हुनेछ ।

पार्टी स्थापनाको चार वर्षमा रास्वपाले पहिलो महाधिवेशन आयोजना गरिरहेको छ । सभापति, बरिष्ठ नेता र उपसभापति खुला पदमा चुनाव नगरी सर्वसम्मत बनाउने गरी तयारी रास्वपाको छ ।

त्यसका लागि नेताहरुका बीचमा करिव सहमति बनेको छ । सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाह (बालेन) र खुला उपसभापतिमा स्वर्णिम बाग्लेलाई सर्वसम्मत बनाउने तयारी छ ।

त्यस्तै मनोनित उपसभापति र मनोनित महामन्त्रीका बारेमा पनि सहमति जुटेको बताइन्छ । मनोनित उपसभापती र महामन्त्रीमा बालेन्द्र शाहको टिमबाट मनोनित गर्ने सहमति जुटेको बताइन्छ । मनोनित उपसभापतिमा अहिलेको पूर्वधार मन्त्री सुनिल लम्साल र महामन्त्रीमा भुपदेव शाहलाई मनोनित गर्ने समझदारी जुटिसकेको नेताहरुको भनाई छ ।

सभापति, बरिष्ठ नेता, उपसभापति २ र महामन्त्री १ गरी ५ पदमा समझदारी बनिसकेको छ, रास्वपाका एक नेताले सफलखबरसँग भने, ‘अन्य पदमा पनि सहमति जुटाउने प्रयास जारी छ । सहमति नजुटे चुनावी प्रक्रियामा जान्छ ।’
रास्वपाको विधान अनुसार पदाधिकारी १९ जनाको हुनेछ । जसमा सभापति १, बरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनित), महामन्त्री २ (एक मनोनित), सहमहामन्त्री ५ (१ महिला, २ मनोनित), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ र सहकोषाध्यक्ष २ (१ महिला) रहने गरी ब्यवस्था गरिएको छ । 

महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा चुनाव हुने सम्भाबना छ । महिला उपसभापतिमा कानुनमन्त्री रहेकी सोविता गौतम, कोषाध्यक्ष रहेकी लिमा अधिकारी र भूमि तथा सामान्य प्रशासन मन्त्री रहेकी प्रतिभा रावल आकांक्षी देखिएका छन् । 

महिला उपसभापति वा महामन्त्रीमध्ये एकमा डा तोसिमा कार्कीले पनि चुनाव लड्ने तयारी गरेकी देखिन्छन् । सबैभन्दा बढी आकांक्षी खुल्ला महामन्त्रीका लागि देखिएको छ । अहिलेसम्म महामन्त्रीका लागि कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, शिशिर खनाल, मनिष झा, गणेश पराजुली, यज्ञमणि न्यौपाने लगायतका नेताहरुले आकांक्षा देखाएका छन् ।

यसमध्येका केही नेतालाई सहमहामन्त्रीमा ब्यवस्थापन गरेर मिलाउन सक्ने बाटोका बारेमा पनि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका बालेन शाहका बीचमा छलफल चलेको छ । 

खुल्ला सहमहामन्त्रीमा हरि ढकाल, प्रकाशचन्द्र परियार, असिम शाहलगायतको नाम चर्चामा छ । महिला सहमहामन्त्री निशा डाँगीले आकांक्षा देखाएकी छिन् । केन्द्रीय सदस्यका लागि भने थामिनसक्नुको भीड लाग्ने देखिएको छ ।