काठमाडौँ । शहरी विकास तथा ऊर्जा मन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रङ्गशालाको पहिलो चरण निर्माण सम्पन्न भई हस्तान्तरण भएसँगै देशको खेलकुद विकासका लागि महत्वपूर्ण माइलस्टोन बताएका छन्।
आइतबार शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निर्मित प्यारापेट र फ्लडलाइट राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको थियो ।
यसबारे सोमबार सामाजिक सञ्जालमार्फत घिसिङले फ्लडलाइटको उज्यालोसँगै केवल रङ्गशाला मात्र होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो बन्दै गएको बताए।
घिसिङले भने, 'कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपाल क्रिकेटले अझ उज्यालो भविष्य लेख्नेछ।' उनका अनुसार वर्षौंदेखि अपुरो रहेको क्रिकेट रङ्गशाला निर्माणको सपना अब मूर्तरूप लिन थालेको छ।
उनले खेलकुदले युवालाई अनुशासित, उर्जाशील र एकतामा बाँध्ने मात्र होइन, देशको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय पहिचानमा पनि योगदान पुर्याउने उल्लेख गरे।
सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत गरी दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको मन्त्री घिसिङले बताए। उनका अनुसार आगामी तीन वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न भएपछि नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्ण सुविधा सम्पन्न भव्य क्रिकेट रङ्गशाला पाउनेछ।
पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाप्रति उनले आभार व्यक्त गरे। उनले सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीलाई पनि शुभकामना दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ
कुलमानले भने : 'मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ'