काठमाडौं । हामी नेपाली नामक गैरसरकारी संस्थााका संयोजक सुधन गुरुङले आफूहरू प्रधानमन्त्री सुशीला कार्की र जिम्मेवार मन्त्रीहरूको ढाल भएर उभिएको बताएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूसम्म पुग्न पहिला आफूहरूलाई ‘पार गर्नुपर्ने’ उनले उल्लेख गरेका छन् ।
“सबैले याद राख्नुस्, प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ,” उनले शनिबार (कात्तिक २२) बेलुका फेसबुकमा लेखेका छन् ।
आफूहरूले प्रधानमन्त्रीलाई मुलुक जिम्मा लगाएको पनि उनले बताएका छन् । “प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित,” उनले भनेका छन्, “खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन् ।”
वर्तमान समयमा धेरैजना अन्तरिम सरकार ढाल्ने दाउमा रहेको उनको बुझाइ छ । नाजुक परिस्थितिको फाइदा जोकोहीले उठाउन खोजिरहेको उनको भनाइ छ ।
“जोकोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन्,” उनले लेखेका छन् ।
उनले आफूले सरकारलाई सहयोग गर्ने तर प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दै छु, किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो,” उनले भनेका छन् ।
अन्तरिम सरकारले चुनाव मात्र होइन, ‘जेनजी’ आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन् । “किनकि यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो,” उनले लेखेका छन्, “नेपाली भन्नुको अस्तित्व र भविष्यका लागि हो । हाम्रो देश बन्न सक्छ भन्ने विश्वासका लागि हो ।”
आफूहरू सडकमा कसैलाई मन्त्री बनाउन नउत्रिएको पनि उनले उल्लेख गरेका छन् । “हामी स्कुले पोसाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतंकविरुद्ध र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ,” उनले भनेका छन्, “हामीलाई भाषण होइन, काम चाहिएको हो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?