डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०८२, ०९ : २३
डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।

जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए । 

उनले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने बताए ।

प्रतिक्रिया दिनुहोस