तनहुँका थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

सफल खबर संवाददाता

शनिबार, ०१ कार्तिक २०८२, ०८ : ३३
तनहुँका थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

तनहुँ । तनहुँका थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ ।

व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । 

जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिए। 

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस