काठमाडौ । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ।
अन्तिम खेलमा १० विकेटको फराकिलो हार व्यहोरे पनि नेपालले तीन खेलको सिरिजमा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको छ।
नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीमाथि ऐतिहासिक जित निकालेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले उपाधि आफ्नो पक्षमा पारेको थियो।
अन्तिम खेलमा पराजित हुँदा नेपालले सिरिज क्लिन स्विप गर्ने मौका भने गुमायो। मंगलबारको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा बिनाविकेटको क्षतिमै भेटायो।
टोलीका लागि अमिर जांगो र अकिम अगस्तेले १२३ रनको साझेदारी गरे। अमिर ७४ र अकिम ४१ रनमा अविजित रहे।
युएईको शारजाहस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १ बलअगावै १२२ रनमै अलआउट भएको थियो।
ओपनर कुशल भुर्तेलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका कुशल क्याच आउट हुन पुगे।
त्यसअघि छैटौँ ओभरको चौथो बलमा कुशलले २६ रन बनाउँदा जेसन होल्डरको बलमा फाबियन एलनले क्याच ड्रप गर्दा जीवनदान पाएका थिए।
कप्तान रोहित पौडेलले १७ रन बनाउँदा विकेट किपरको हातबाट क्याच आउट नै भए। कुशल मल्लले १२ र गुल्सन झा १० रन बनाउँदै पेभेलियन फर्के।
आरिफ शेख ६ रनमा आउट भए। मोहम्मद आदिल आलम ३ रनमा रनआउट हुन पुगे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असोज २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल
नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?