काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले बताए ।
आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णतः सुरक्षित रहेको भट्टराईले बताए । कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।
आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलवारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए । यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताए ।
आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ-आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् । अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ । ‘अन्य डाटा सेन्टरमा क्षति पुगेको छ भने पनि हामीसँग प्रायःको ब्याकअप हुन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ भदौ २०८२, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी