भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

रासस

सोमबार, १६ भदौ २०८२, १३ : २०
भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।  ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

राति ११ः ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए । यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो ।

यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए ।

भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बालक र  वृद्ध बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस