वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा : संक्रमितको संख्या ७९ पुग्यो

रासस

सोमबार, ०९ भदौ २०८२, ११ : ५०
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा : संक्रमितको संख्या ७९ पुग्यो

पर्सा  । वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आएका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेको जानकारी दिए । 'आइतबार बेलुकी ८:०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,' उनले भने, 'सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेटिएका छन्।'

अहिलेसम्म १०३ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार भइरहेका छन् । 'हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,' उनले भने, 'विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँको पानीको परीक्षणलगायतका काम गरिरहेका छन् । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ।'

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए । 'नारायणी अस्पतालमा हैजाको उपचारका लागि श्यया र जनशक्ति दुवैको अभाव देखिएको छ,' उनले भने, 'अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक सहयोग आइपुगेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचार सामग्री आइपुगेका छैनन्।'

प्रवक्ता सिंहले हैजाको महामारीसँगै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । 'हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,' उनले भने, 'भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन।'

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमण देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् ।

त्यस्तै वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा/कलेरा सङ्क्रमित बिरामी भेटिएका छन् । थप आठ जना बिरामी सोमबार बिहान थपिएका छन्, तर ती कुन अस्पतालमा परीक्षण गरिएको हो भन्ने विवरण खुल्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस