काठमाडौ । हाल बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन् ।
उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्प माला चढाए ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए युके) ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहाँ पुगेका थिए ।त्यस पछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झन्डा बोकेका नेपालीहरू सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए
बेलायतका ५९ सङ्घसंस्थाका प्रमुख, बुद्धिजीवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे ।
उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताए। 'नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसँग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरूको ठुलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति', उनले भने ।घिसिङले आफूले सुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए ।
बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयाँ लिडरसिप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए । 'यस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छु', उनले भने, 'तपाईँहरू सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास मलाई छ ।'
नेपालमा बर्सेनि १५ खर्ब रुपैयाँ रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भए पनि राज्यले आफूहरूलाई अपमान गर्ने गरेको उनीहरूको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।
'जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिका लगायत पश्चिमा देश बसेका नेपाली र पेसेवरहरूलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठिक होइन', उनले भने ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले बेलायतका नेपालीहरूले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउँदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे ।' विदेशमा रहेका नेपालीलाई संविधान प्रदत्त अधिकार दिनु पर्छ'
यस अघि राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए युकेले पनि कुलमानसँग छुट्टै अन्तरक्रिया गरेको थियो। उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउँदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोसिसमा देश-विदेशका साथीहरूसँग जोडिएको जानकारी दिए । उनले नेपालीहरू विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेसामा काम गरी रहेकाले नेपालले धेरै फाइदा लिन सक्ने अवस्था रहेको जनाए । घिसिङले डायस्पोराका नेपालीहरूले नेपालमा बस्ने र लगानी गर्ने कोसिस गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरूलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनले बताए ।
‘अबको विश्व ऊर्जामा निर्भर भएकाले नेपालमा जल विद्युत्को सम्भाव्यता अझै छ’, उनले भने. .नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’ अध्यक्ष पुडासैनीले कुलमानको योगदानको प्रशंसा गर्दै एनआरएनए युकेले नेपाल राष्ट्रका लागि काम गर्नेहरूसँग सहकार्यको हात अघि बढाउने जनाए ।
यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा. रक्षा थापाले फुल र खादा ओढाएर घिसिङलाई स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन एनआरएनए युकेका पूर्व सचिव तिलक भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरू तथा स्थानीयलाई एनआरएनए युके इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ भदौ २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थापन गर्न नसक्दा विद्युत् आपूर्तिमा समस्या : कुलमान घिसिङ
कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित
बहराइनमा कुलमान घिसिङलाई नागरिक अभिनन्दन
सरसफाईसम्बन्धी सचेतना घरघरमा फैलाउनुपर्छः कुलमान घिसिङ