काठमाडौं । करिब एक वर्षदेखि भारतको औपचारिक भ्रमणमा जान उत्सुक रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आगामी भदौ ३१ गते त्यसतर्फ प्रस्थान गदैछन् । गत वर्ष असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भए पछि लगत्तै उनले दक्षिण छिमेकी मुलुक भारत जान चाहेका थिए । उनले पटक पटक परराष्टमन्त्री डा आरजु राणा देउवामार्फत कुटनीतिक पहल गरेका पनि थिए ।
न्यूयोर्क र थाइल्याण्डमा मोदीसँग भएको साइडलाइन बैठकमा पनि उनले आकांक्षा देखाएका थिए । तर, भारतीय पक्षले सकारात्मक जवाफ नदिएपछि उनको भारत भ्रमण हुन सकेको थिएन । त्यसयता पटक–पटक प्रयास हुँदाहुँदै भ्रमणको मिति टुंगो लाग्न सकेको थिएन । तर यसपटक परिस्थितिले नयाँ मोड लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै जन्मदिन पारेर ओलीलाई भेट्ने गरी औपचारिक निमन्त्रणा पठाएका छन् । ओली भदौ ३१ मा नयाँ दिल्ली पुग्नेछन् भने असोज १ गते, अर्थात मोदीको जन्मदिनकै दिन, दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता तय भएको छ । यस घटनालाई दुवै देशका राजनीतिक वृत्तमा ‘संयोग मात्र होइन, सम्बन्ध सुधारको संकेत’का रूपमा व्याख्या गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभा र थाइल्यान्डमा भएको एक कार्यक्रमका क्रममा ओली–मोदीबीच अनौपचारिक भेटघाट भए पनि, दिल्ली वा काठमाडौंमा औपचारिक भेटवार्ता भने जुरेको थिएन । नेपाल–भारत सम्बन्धमा विभिन्न उतारचढावबीच, भारतीय पक्षबाट औपचारिक निम्तो नआएको विषयले दुवैतर्फको चासो बढाएको थियो । यो पटक भने भारतीय पक्ष आफैं सक्रिय भई प्रधानमन्त्री ओलीलाई निम्तो पठाएको छ । नेपाली कूटनीतिक स्रोतका अनुसार, मोदीको जन्मदिनलाई विशेष अवसरका रूपमा प्रयोग गरेर दुवै मुलुकबीचको चिसिएको सम्बन्ध पुनः ताजगी ल्याउने प्रयास भइरहेको छ । दिल्ली बाहिर वार्ताको तयारी भारत भ्रमण गर्ने अधिकांश विदेशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग हैदरावाद हाउसमा औपचारिक वार्ता गर्ने परम्परा छ । तर यसपटक मोदी र ओलीको भेट नयाँ दिल्ली बाहिर कुनै स्थानमा गर्ने तयारी भइरहेको छ । यो पनि नयाँ संयोग हुने छ । भारतीय पक्षले वैकल्पिक स्थानको प्रस्ताव अघि सारेको र त्यसबारे नेपाली पक्षलाई पनि जानकारी दिइसकेको कूटनीतिक स्रोतले बताएको छ । भेटस्थलबारे अन्तिम निर्णय प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम टुंगो लगाउने क्रममा हुनेछ ।
यसलाई असामान्य र महत्त्वपूर्ण संकेतका रूपमा लिइएको छ, किनभने हैदरावाद हाउसमा नभई अन्यत्र वार्ता हुनु भनेको भेटलाई फरक ‘टोन’ र ‘सन्देश’ दिन खोजिएको बुझाइ कूटनीतिक वृत्तमा छ । भारतीय विदेश सचिवको विशेष आगमन प्रधानमन्त्री ओलीलाई मोदीको निमन्त्रणा औपचारिक रूपमा हस्तान्तरण गर्न भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुग्ने भएका छन् । विशेष कुरा के भने, उनी साधारण नियमित विमानमार्फत नभई भारतीय वायु सेनाको व्यावसायिक जेट एम्ब्रेरमार्फत आउनेछन् । मिश्रीको नेतृत्वमा आउने कूटनीतिक टोली आइतबार दिउँसो करिब १ बजे दिल्लीबाट काठमाडौं अवतरण गर्नेछ र सोमबार दिउँसो मात्र फर्किनेछ । नेपालको नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि मंगलबार मात्रै उक्त विमानलाई काठमाडौं अवतरण र एक दिन बस्नका लागि अनुमति दिइसकेको स्रोतको भनाइृ छ । अनुमति प्रक्रिया काठमाडौंस्थित भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै पूरा भएको हो । सामान्यतया, यस्ता कूटनीतिक उडानका यात्रुहरूले सम्बन्धित देशलाई सेवा शुल्क तिर्नुपर्ने प्रावधान छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भारतीय विदेश सचिवसहितको टोलीलाई अवतरण, पार्किङ र नेभिगेसन शुल्क छुट दिने निर्णय लिईसकेको स्रोतको भनाई छ ।
यसरी सैन्य जेटमार्फत उच्चस्तरीय आगमन हुनु, भ्रमण तयारीलाई उच्च प्राथमिकतामा राखिएको संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा द्विपक्षीय राजनीतिक संवादसँगै व्यापार, पूर्वाधार विकास, ऊर्जा, सीमा व्यवस्थापन लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । भारतीय पक्षले खासगरी सुपुदगए सन्धिमा जोड गरिरहेको छ । गत केही वर्षयता व्यापार असन्तुलन, नाकाबन्दीको स्मृति, सीमा विवाद जस्ता संवेदनशील मुद्दाले दुई देशबीच अविश्वासको बादल मडारिएको छ । यस्तो अवस्थामा मोदीको जन्मदिनको अवसरमा हुने भेटवार्ता ‘सकारात्मक वार्ता’ सिर्जना गर्न सक्ने संकेत देखाइएको छ ।
कूटनीतिक विश्लेषकहरूका अनुसार, दिल्ली बाहिर वार्ता गर्ने तयारी, सैन्य जेटमार्फत निम्तो हस्तान्तरणको औपचारिकता, र प्रधानमन्त्रीको एक वर्ष लामो प्रतीक्षापछि तय भएको मिति- यी सबैले यो भ्रमणलाई सामान्यभन्दा बढी ‘सन्देशमूलक’ बनाइदिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली