मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०८२, १० : ३३
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी

file Photo

काठमाडौं । करिब एक वर्षदेखि भारतको औपचारिक भ्रमणमा जान उत्सुक रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आगामी भदौ ३१ गते त्यसतर्फ प्रस्थान गदैछन् । गत वर्ष असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भए पछि लगत्तै उनले दक्षिण छिमेकी मुलुक भारत जान चाहेका थिए । उनले पटक पटक परराष्टमन्त्री डा आरजु राणा देउवामार्फत कुटनीतिक पहल गरेका पनि थिए ।

न्यूयोर्क र थाइल्याण्डमा मोदीसँग भएको साइडलाइन बैठकमा पनि उनले आकांक्षा देखाएका थिए । तर, भारतीय पक्षले सकारात्मक जवाफ नदिएपछि उनको भारत भ्रमण हुन सकेको थिएन । त्यसयता पटक–पटक प्रयास हुँदाहुँदै भ्रमणको मिति टुंगो लाग्न सकेको थिएन । तर यसपटक परिस्थितिले नयाँ मोड लिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै जन्मदिन पारेर ओलीलाई भेट्ने गरी औपचारिक निमन्त्रणा पठाएका छन् । ओली भदौ ३१ मा नयाँ दिल्ली पुग्नेछन् भने असोज १ गते, अर्थात मोदीको जन्मदिनकै दिन, दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता तय भएको छ । यस घटनालाई दुवै देशका राजनीतिक वृत्तमा ‘संयोग मात्र होइन, सम्बन्ध सुधारको संकेत’का रूपमा व्याख्या गरिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभा र थाइल्यान्डमा भएको एक कार्यक्रमका क्रममा ओली–मोदीबीच अनौपचारिक भेटघाट भए पनि, दिल्ली वा काठमाडौंमा औपचारिक भेटवार्ता भने जुरेको थिएन । नेपाल–भारत सम्बन्धमा विभिन्न उतारचढावबीच, भारतीय पक्षबाट औपचारिक निम्तो नआएको विषयले दुवैतर्फको चासो बढाएको थियो । यो पटक भने भारतीय पक्ष आफैं सक्रिय भई प्रधानमन्त्री ओलीलाई निम्तो पठाएको छ । नेपाली कूटनीतिक स्रोतका अनुसार, मोदीको जन्मदिनलाई विशेष अवसरका रूपमा प्रयोग गरेर दुवै मुलुकबीचको चिसिएको सम्बन्ध पुनः ताजगी ल्याउने प्रयास भइरहेको छ । दिल्ली बाहिर वार्ताको तयारी भारत भ्रमण गर्ने अधिकांश विदेशी राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग हैदरावाद हाउसमा औपचारिक वार्ता गर्ने परम्परा छ । तर यसपटक मोदी र ओलीको भेट नयाँ दिल्ली बाहिर कुनै स्थानमा गर्ने तयारी भइरहेको छ । यो पनि नयाँ संयोग हुने छ । भारतीय पक्षले वैकल्पिक स्थानको प्रस्ताव अघि सारेको र त्यसबारे नेपाली पक्षलाई पनि जानकारी दिइसकेको कूटनीतिक स्रोतले बताएको छ । भेटस्थलबारे अन्तिम निर्णय प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम टुंगो लगाउने क्रममा हुनेछ ।

यसलाई असामान्य र महत्त्वपूर्ण संकेतका रूपमा लिइएको छ, किनभने हैदरावाद हाउसमा नभई अन्यत्र वार्ता हुनु भनेको भेटलाई फरक ‘टोन’ र ‘सन्देश’ दिन खोजिएको बुझाइ कूटनीतिक वृत्तमा छ । भारतीय विदेश सचिवको विशेष आगमन प्रधानमन्त्री ओलीलाई मोदीको निमन्त्रणा औपचारिक रूपमा हस्तान्तरण गर्न भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आइपुग्ने भएका छन् । विशेष कुरा के भने, उनी साधारण नियमित विमानमार्फत नभई भारतीय वायु सेनाको व्यावसायिक जेट एम्ब्रेरमार्फत आउनेछन् । मिश्रीको नेतृत्वमा आउने कूटनीतिक टोली आइतबार दिउँसो करिब १ बजे दिल्लीबाट काठमाडौं अवतरण गर्नेछ र सोमबार दिउँसो मात्र फर्किनेछ । नेपालको नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि मंगलबार मात्रै उक्त विमानलाई काठमाडौं अवतरण र एक दिन बस्नका लागि अनुमति दिइसकेको स्रोतको भनाइृ छ । अनुमति प्रक्रिया काठमाडौंस्थित भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै पूरा भएको हो । सामान्यतया, यस्ता कूटनीतिक उडानका यात्रुहरूले सम्बन्धित देशलाई सेवा शुल्क तिर्नुपर्ने प्रावधान छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यस पटक भारतीय विदेश सचिवसहितको टोलीलाई अवतरण, पार्किङ र नेभिगेसन शुल्क छुट दिने निर्णय लिईसकेको स्रोतको भनाई छ ।

यसरी सैन्य जेटमार्फत उच्चस्तरीय आगमन हुनु, भ्रमण तयारीलाई उच्च प्राथमिकतामा राखिएको संकेतका रूपमा हेरिएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा द्विपक्षीय राजनीतिक संवादसँगै व्यापार, पूर्वाधार विकास, ऊर्जा, सीमा व्यवस्थापन लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । भारतीय पक्षले खासगरी सुपुदगए सन्धिमा जोड गरिरहेको छ । गत केही वर्षयता व्यापार असन्तुलन, नाकाबन्दीको स्मृति, सीमा विवाद जस्ता संवेदनशील मुद्दाले दुई देशबीच अविश्वासको बादल मडारिएको छ । यस्तो अवस्थामा मोदीको जन्मदिनको अवसरमा हुने भेटवार्ता ‘सकारात्मक वार्ता’ सिर्जना गर्न सक्ने संकेत देखाइएको छ ।

कूटनीतिक विश्लेषकहरूका अनुसार, दिल्ली बाहिर वार्ता गर्ने तयारी, सैन्य जेटमार्फत निम्तो हस्तान्तरणको औपचारिकता, र प्रधानमन्त्रीको एक वर्ष लामो प्रतीक्षापछि तय भएको मिति- यी सबैले यो भ्रमणलाई सामान्यभन्दा बढी ‘सन्देशमूलक’ बनाइदिएको छ ।