रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ: राष्ट्रिय मानवअधिकार आयोग

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०८२, १३ : ४७
रविजीको कोठामा दुई पंखा छन्, झ्याल थुनिएको छ: राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेका छन् ।अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरूको अभाव रहेको टिप्पणी गरे ।

राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उल्लेख गरिन् ।

रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनको भनाइ छ । थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनुभएको छ ।’

उनले कोठाभित्र एसी नदेखेको बताइन् । थापाले रविलाई स्थानान्तरणका लागि अनुमति नदिइएकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिन् । ‘अदालतले भनिसक्दा पनि उहाँलाई जेल सार्न दिइएको रहेनछ । यस विषयमा कारागार व्यवस्थापन विभागसँग कुरा गर्छौँ,’ उनले भनिन् ।

कारागारमा पत्रपत्रिका नआउने भएकाले रविसमेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् । इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुई वटा पंखा रहेको बताइन् ।

‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्विकार्नुभएको छ,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस