काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको राजनीतिक तिक्तता अब पार्टीका तल्लो संरचना र जनवर्गीय संगठनसम्म फैलिएको छ ।
संस्थापन पक्षले भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा प्रवेश रोक्ने निर्णय गर्दै सदस्यता नवीकरणमै रोक लगाएपछि उनी ‘चुप लागेर नबस्ने’ रणनीतिसहित मैदानमा उत्रिएकी छन् ।
मदन भण्डारीले २०४८ सालको आमनिर्वाचनमा प्रयोग गरेको काठमाडौँ–१ स्थित घर भाडामा लिएर राजनीतिक सम्पर्क कार्यालय सञ्चालनको तयारीसँगै भण्डारीले एमालेका केन्द्रीय सचिवालय सदस्यहरूसँग भेटघाट, फोन संवाद र संगठनभित्र आफ्ना निकटका नेता–कार्यकर्ताको प्रभाव विस्तार गरिरहेकी छिन् ।
पार्टीको विधान अधिवेशन नजिकिँदै गर्दा उनको यो सक्रियताले जनवर्गीय संगठन र तल्लो कमिटीहरूमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । ओली पक्षको परिपत्र र निर्देशन बेवास्ता गर्दै कतिपय कमिटी र संगठनहरूमा भण्डारी पक्षधरहरू वर्चस्वमा उत्रिन खोजेका छन् ।
काभ्रेमा खुला चुनौती
एमालेमा पनि ओली अध्यक्ष नहुँदै देखि निरन्तर केपी ओलीको गढ मानिने काभ्रेपलाञ्चोकमा हालै सम्पन्न युवा संघको ११ औं जिल्ला अधिवेशन भण्डारी पक्षको पूर्ण नियन्त्रणमा सम्पन्न भएको छ । बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन नमानी धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ ।
१३ वटै पालिकाबाट प्रतिनिधित्व गराउँदै सम्पन्न अधिवेशनमा रमेश बुढाथोकी सचिव, अमन धिताल, राजेन्द्र लामा र सगुन थापा सहसचिव, शिवप्रसाद ढुंगेल कोषाध्यक्षमा निर्वाचित भए । संगठन विभाग प्रमुखमा किरण तामाङ चयन भए ।
ओली पक्षका युवा संघ उपाध्यक्ष रुपक रायमाझीले अधिवेशनलाई ‘अवैधानिक’ भन्दै केन्द्र र प्रदेश कमिटीको परिपत्र नमानिएको आरोप लगाएपनि भण्डारी पक्षको नेतृत्वले अधिवेशन ‘प्रतिनिधिमूलक र वैध’ भएको दाबी गरेको छ ।
जिल्ला इञ्चार्ज तथा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा र जिल्ला अध्यक्ष राजन भुर्तेल भण्डारीको पक्षमा खुलेका छन् भने केन्द्रीय सदस्य रेशम लामा र बागमतीका पूर्वमन्त्री चन्द्र लामा ओली पक्षमा छन् ।
विद्यार्थी संगठनमा पनि फाटो
विवाद विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सम्म पुगेको छ । गण्डकी प्रदेशमा केन्द्रको सर्कुलरविपरीत बागलुङमा सुरज सापकोटाको अध्यक्षतामा भेला गरेर केन्द्रको निर्णय पुनर्विचार गर्न माग गरिएको छ ।
प्रदेश अध्यक्ष प्रवीण श्रेष्ठले सचिव सुरजलाई संयोजक तोकेको निर्णय केन्द्रले बदर गरी उपाध्यक्ष सुसन घिमिरेलाई संयोजक बनाएपछि विवाद चुलिएको हो । सुरज पक्षले ८ जिल्ला अध्यक्ष र ७ केन्द्रीय सदस्यको समर्थन रहेको दाबी गर्दै केन्द्रको हस्तक्षेप अस्वीकार गरेको छ । तर सुसन घिमिरेले भेला ‘अवैध’ भएको प्रतिक्रिया दिएकी छन् । बुद्दिजिवि परिषद्ले त अझ एमालेमा कस्तो नीति लागु गर्नुपर्ला भन्दै भण्डारीको पक्षमा जनमत संकलनका लागि सर्वेक्षण नै शुरु गरेको छ । एमाले केन्द्रीय कार्यालयले सर्वेक्षण रोक्न भनेपनि वुद्दिजिवि परिषद्ले सर्वेक्षण नरोक्ने बताईसकेको छ ।
यसले भण्डारी जर्वजस्त पार्टीभित्र आफनो जनमत बढाउने धुनमा लागेकी छिन् । ओली–भण्डारीबीचको यो रस्साकस्सी पार्टी संरचना र संगठनसम्मै फैलँदा एमालेभित्र आन्तरिक तनाव चर्किंदै गएको छ । केन्द्रीय तहको निर्णय तल्लो संरचनामा लागू नहुने प्रवृत्ति बढ्नु संगठनात्मक अनुशासनका दृष्टिले चुनौतीपूर्ण देखिएको छ । विधान अधिवेशन नजिकिँदै गर्दा यो शक्ति–समिकरणले पार्टीभित्रको शक्ति–संघर्षलाई थप उग्र बनाउने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा