काठमाडौं । घटना १ : मंसिर ५ गते बिहान साढे ६ बजे डोल्पाबाट पर्यटक उद्धारको अनुरोध आयो । हेलिकप्टर कम्पनीले आवश्यक कागजात पुर्याएर गृहमन्त्रालयको अनुमति माग्यो । तर गृहका कर्मचारीले सम्बन्धित सीडीओको अनुमति नपाएको भन्दै दिउँसो ३ बजे मात्र अनुमति दियो । हेलिकप्टर पुग्दा पर्यटकको मृत्यु भइसकेको थियो । गृहको ढिलाइका कारण क्यानेडेली नागरिक र्यान्डल फेरिस बेकरले ज्यान गुमाए ।
घटना २: गत वर्ष माथिल्लो मुस्ताङ पदयात्रामा गएका अमेरिकी नागरिक एइथ इरल्याण्ड जेलम झाडापखालाले थलिए । उनले बिहान ८ बजे उद्धार मागेका थिए। तर गृहले दिउँसो साढे २ बजे मात्र स्वीकृति दियो । हेलिकप्टर पुग्दा उनको पनि मृत्यु भइसकेको थियो ।
घटना ३: तीन जना विदेशी नागरिक मंगलबार गोरखाको सामागाउँ पदयात्रामा गए । उनीहरु ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालको कम्पनी नेपाल एन्भाइरोमेन्ट ट्रेक्स एण्ड एक्स्पीडिसनमार्फत गएका थिए ।
तीमध्ये अस्ट्रेलियन नागरिक अमान्डा लेक लागेर बिरामी परे । उनले बिहान ११ बजे उद्धार मागे। दाहालले तुरुन्तै हेली एभरेष्टलाई आग्रह गरे । तर गृहले साँझ परेपछि मात्रै अनुमति दियो । उनको उद्धार भोलिपल्ट बिहान ८ बजे मात्रै भयो ।
उडान अनुमति दिने निकाय गृह मन्त्रालय हो । उसको चरम लापरवाहीले विदेशी पर्यटकको अनाहकमा मृत्यु भएको छ । हरेक वर्ष गृहको गैरजिम्मेवारीका कारण दर्जनौं पर्यटक ज्यान गुमाउने गर्छन् । एकातिर पर्यटकको संख्या वृद्धि गरी अर्थतन्त्र सुदृढ पार्ने भन्दै सरकारले २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । अर्काेतिर नेपाल आएका पर्यटकको सुरक्षामा उदासीन छ । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १३ मंसिर २०७५, ०७ : १७
लेखकबाट थप