भरतपुर महानगरको बजेट तीन अर्बको आउँदै

विहीबार, २० पुस २०७४, १७ : १४
भरतपुर महानगरको बजेट तीन अर्बको आउँदै

भरतपुर । भरतपुर महानगरपालिकाको शुक्रबार सुरु हुने प्रथम नगर सभामा नगर विकासका लागि तीन अर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्ताव गरिने भएको छ ।
नगर सभाको पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणा अनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगर प्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । बजेटले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
शहरी विकास मन्त्रालयमार्फत प्राप्त रु तीन अर्बको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्ती पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्नका लागि नगर सभामा प्रस्ताव पेश गरिने अधिकारीले बताए ।
‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ’ अधिकारीले भने, ‘केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङरोड र लिंकरोड यसै वर्षबाट शुरु गरिनेछ ।’

नगरसभामा सिटी हल, चित्रवनमा बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्ने लगायतका महत्वपूर्ण योजना प्रस्ताव गरिँदैछ ।


निर्वाचन आचारसंहिताका कारण गत कात्तिक २७ गते स्थगित भएको नगरसभाको तयारीस्वरुप अहिले महानगरपालिकाले २९ वटै वडाबाट योजना छनौटको काम गरिरहेको छ । सबै वडाले एक करोड रुपैयाँको दरले बजेट माग गरेका छन् । विकास निर्माणको पूर्वाधारलाई प्राथमिकता दिँदै योजनाहरु ल्याइएको महानगरपालिकाले जनाएको छ । 
महानगरपालिकाले सिंहदरबारको अधिकार गाउँमा नै भन्ने नारालाई बल पुग्ने गरी वडाले नै सञ्चालन गर्ने गरी बजेट विनियोजन हुँदैछ । केही ‘मेघा प्रोजेक्ट’ समेत नगर सभाबाट पारित गर्ने तयारीमा रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । महानगरले योजना निर्माण गर्दा मेघा प्रोजेक्टको रुपमा चक्रपथलाई प्राथमिकता दिएको छ । जोशीका अनुसार, दोस्रोमा सिटी हल र तेस्रोमा ल्याण्डफिल साइटलाई प्रथामिकतामा राखिएको छ । 
विश्व बैंकको १० करोड रुपैयाँ सहयोगमा २५ करोड रुपैयाँको लागतमा ल्याण्डफिल साइट निर्माण गर्ने तयारी भइरहेको जोशीले बताए । निजी क्षेत्रबाट प्रस्ताव आएमा फोहोरलाई वर्गीकरण गरेर ल्याण्डफिल साइटबाट प्रतिदिन चार मेट्रिक टन मल र ३८ सिलिण्डर ग्यास उत्पादन गर्ने गरी प्रोजेक्ट निर्माण गरिरहेको महानगरले विकासका लागि कस्तो नीति बनाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस