भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १२ : ०७
भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

काठमाडौँ । आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८ गते ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ र सोही महिनामा चलचित्र समीक्षक समाजले प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’ आयोजना हुनेछ ।

पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् । ‘सिने सर्कल नेपाल’ द्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने ‘आठौँ सिने सर्कल अवार्ड २०८२’ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी हुन् ।

चलचित्र समीक्षक तथा पत्रकारहरूको छाता संस्था चलचित्र समीक्षक समाजले केही वर्षदेखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ लाई पुनः निरन्तरता दिने भएको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्ड प्रदान गर्नका लागि चलचित्र हेर्ने काम भइरहेको बताए ।

‘हामीले समीक्षात्मक रुपमा अब्बल सावित हुने चलचित्र र चलचित्रकर्मीलाई पुरस्कृत गर्ने गरेका छौँ । केही वर्ष विविध कारणले रोकिएको पुरस्कार समारोहले पुनः निरन्तरता पाउँदैछ । हामी चलचित्र हेरिसकेपछि विजेता घोषणा गरेर भदौमा  पुरस्कार वितरण गर्ने छौँ’, उनले भने ।

उक्त पुरस्कार नौ विधामा प्रदान गरिनेछ । ‘इन्फा इभेन्ट्स युके’ र ‘इन्फा नेपाल’ को आयोजना तथा मनु मिडियाको सहकार्यमा बेलायतस्थित लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना हुने कार्यक्रम संयोजक मनिष कार्कीले बताए ।

‘नेपाली कला र संस्कृति प्रवासमा बढाउन हामीले पुरस्कार वितरण समारोह बेलायतमा गर्ने गरेका छौँ । दोस्रो शृङ्खलामा आइपुग्दा हामी अझै परिपक्क भएर कार्यक्रमको आयोजना गरिरहेका छौँ । हाम्रो चलचित्रसम्बन्धी गतिविधिले बेलायतमा बजार बढाउन र नेपाली चलचित्र प्रवद्र्धनमा टेवा पुगेको हाम्रो विश्वास छ’, संयोजक कार्कीले भने ।

उनले २६ विधामा पुरस्कार वितरण गरिने र अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने जानकारी दिए । केही वर्ष अगाडि बढिरहेको ‘अवार्ड’ को सङ्ख्या पछिल्लो समय सन्तुलित बन्दैछ ।

प्रतिक्रिया दिनुहोस