काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘दृश्यमा कोशी प्रदेश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने– ‘पर्यटन पूर्वाधार विकासका लागि लगानी आवश्यक पर्छ । सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । यसका लागि निजी क्षेत्रलाई लगानीका लागि रातो कार्पेटमा स्वागत गर्नुपर्छ ।’
मन्त्री पाण्डेले मन्त्रालयले अहिले नीतिगत सुधारमा विशेष ध्यान दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताए । अर्थमन्त्रीले पर्यटनलाई थोरै महत्त्व दिएकोमा गुनासो गर्दै मन्त्री पाण्डेले भने, ‘पर्यटन मन्त्रालयसँग सबैतिरबाट अपेक्षा धेरै हुने भए पनि सरकारले निर्माण गर्ने बजेट प्राथमिकतामा कम पर्ने गरेको छ । अन्य मन्त्रालयको तुलनामा पर्यटन मन्त्रालयको बजेटको आकार निकै सानो छ । त्यसकारण सीमित स्रोतसाधनका बिच हामीले काम गर्ने प्रयासहरू गरिरहेका छौँ ।’
मन्त्री पाण्डेले नेपाललाई दृश्यको माध्यमबाट अझ सुन्दर बनाउन देखाउन हामी सबैले लाग्नुपर्ने समेत बताए । उनले देशभन्दा बाहिरको मानिस एक पटक आएपछि पटक पटक आउने वातावरण सिर्जना गर्न गरी काम भइरहेको उल्लेख गर्दै थपे, ‘विविधतापूर्ण संस्कृति र प्रकृतिलाई दृश्यमा ल्याउन सकेमा पर्यटन विकास हुने र यसले आर्थिक समृद्धिको मार्ग तय गर्छ ।’
मन्त्री पाण्डेले किरात सर्किटलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । कोशी प्रदेशले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन, पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्न सङ्घ सरकार प्रतिबद्ध भएकोसमेत मन्त्री पाण्डेले बताए ।
प्रकृति र संस्कृति लाई सँगसँगै लैजानुपर्ने उल्लेख गरे । ‘सगरमाथा जसरी उभिएको छ, त्यो गौरव, यससँग जोडिएको हाम्रो विचार, त्यो गौरवसँग जोडिएको हाम्रो दर्शन र हाम्रो अभिभारालाई पूरा गर्न हाम्रा प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरहरूको कथा हामीले सुनाउनुपर्छ र देखाउनुपर्छ ।’
कयौँ पर्यटकीय गन्तव्यहरूको खोज तथा अन्वेषण नै हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरूको अनुसन्धान र अन्वेषण गर्ने र त्यसबाट समग्र देशलाई नै लाभान्वित बनाउने काममा हामी काम गरिरहेका छौँ ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पछिल्लो समय पर्यटकहरूको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको उल्लेख गरे । उनले भने, ‘पछिल्ला वर्षहरूमा पर्यटकको प्रवृत्ति बदलिएको छ । भएका गन्तव्यभन्दा आफैँ गन्तव्य खोज्दै हिँड्ने पर्यटकहरूको सङ्ख्यामा बिस्तारै वृद्धि भइरहेको छ ।’
सीईओ जोशीले नेपालमा निर्माण हुने चलचित्र तथा गीत संगीतका भिडियोहरूले पनि नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गरिरहेको र नेपालका गन्तव्यहरूको ब्राण्डिङ गरेर विदेशी पर्यटकहरूलाई नेपाल ल्याउने प्रवर्द्धनात्मक कामहरू गर्न सबै निकायसँग सहकार्य भइरहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्कृतिका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहकार्य बढाउनुपर्छ: मन्त्री पाण्डे
मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन: मन्त्री पाण्डे
देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्छ : मन्त्री पाण्डे
हिमाल जोगाउन नसके नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे
नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश दिन जरुरी छ : मन्त्री पाण्डे